काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ। भूकम्प, बाढी पहिरोलगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुनस्र्थापनाबारे सहकार्य गर्न चेम्बर र जापानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटियन सिटी, युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्य समझदारी भएको हो।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा विपद् व्यवस्थापन पूर्वतयारीका लागि सहकार्य सुरु भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसका लागि जापानको प्राविधिक सहयोग, एवं जनचेतनाका लागि सहकार्य गर्ने विषयमा सहमति भएको छ।
जोखिम पूर्वतयारी तथा समग्र विपद् व्यवस्थापनका विषयमा स्थानीय स्तरमा नागरिकको प्रत्यक्ष सहभागिता हुने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले बताए। प्राकृतिक प्रकोपबाट नागरिकले कष्ट पाइरहेको अवस्थामा जापानी संस्थासँगको सहकार्यमा विपद् व्यवस्थापन कार्यका लागि चेम्बरले पहल गरेको अध्यक्ष अग्रवालको भनाइ छ।
निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले वास्तविक तथ्यांक अभावमा पनि उद्धार राहत तथा पुनस्र्थापनामा प्रभावकारी परिणाम हासिल गर्न चुनौती रहेको बताए। जापानी निकायसँगको प्राविधिक सहकार्यमा वास्तविक लगत संकलन गर्न सकिने उनको भनाइ छ। चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले विपद् व्यवस्थापनमा जापानी संस्थासँग चेम्बरले गर्ने सहकार्यलाई स्थानीय तहसम्म पुर्याइने जानकारी दिए।
कार्यक्रम चेम्बरले ५ वर्षअघि सुरु गर्ने तयारी गरे पनि कोभिडका कारण प्रभावित भएको वरिष्ठ उपाध्यक्ष अग्रवालले बताए। अर्वान रेजिलेन्स रिर्सच सेन्टरका प्राध्यापक डा। इकुटा एसुकेले विपद व्यवस्थापनसम्बन्धी सबै कार्यक्रममा बढीभन्दा बढी जनसभागिता हुनुपर्नेमा जोड दिए। रेजिलेन्स रिसर्च सेन्टरमार्फत विपद् व्यवस्थापन प्रतिकार्यसम्बन्धी जनचेतना अभिवृद्धि एवं प्राविधिक सहयोगका लागि चेम्बरसँग सहकार्य गरिएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्