Skip to content
Prabhu

घरजग्गा कारोबारः सबैभन्दा बढी झापामा, अन्य जिल्लामा कति ?

nabil

काठमाडौँ । गत कात्तिकमा देशभर ९७ हजार १९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । गत असोजमा १ लाख ८ सय ४८ कारोबार भएको थियो ।

घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार पाँच सय १४ वटा लिखत पास भएका छन् । यस्तै, नामसारीतर्फ तीन हजार तीन सय ६२, हालसाविक दुई हजार एक सय १४, रोक्कातर्फ २५ हजार ३० छन् ।

global
अर्घाखाँची सिमेन्ट

विभागका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा सबैभन्दा बढी चार हजार दुई सय ६६ घर जग्गाको कारोबार भएको छ । मालपोत कार्यालय सुनसरीमा तीन हजार एक सय १५, बेलबारीमा दुई हजार आठ सय २१, धनुषामा दुई हजार एक सय ५८ वटा कारोबार भएका छन् ।

सिर्दिबास मालपोत कार्यालय गोरखामा एउटा मात्रै कारोबार भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । सो महिना मालपोत कार्यालय मनाङमा १९, हुम्लामा १५, डोल्पामा १६, ओखलढुङ्गामा १७ वटा कारोबार भएका विवरण प्राप्त भएको छ ।

सबैभन्दा बढी राजस्व संकलन गर्ने काठमाडौँ उपत्यकाका मालपोत कार्यालयमध्ये कलंकीमा एक हजार छ सय ४९ घर जग्गाको कारोबार भएको छ । भक्तपुर मालपोतमा दुई हजार तीन सय ४८, डिल्लीबजार कार्यालयले नौ सय ३९ वटा कारोबार गर्दा चाबहिल मालपोतले एक हजार चार सय २३ वटा कारोबार गरेको छ ।

विभागका अनुसार विसं २०८० कात्तिकमा ७७ हजार एक सय ८५ घर र विसं २०७९ कात्तिकमा ९७ हजार एक सय ९६ वटा कारोबार भएको थियो ।

विभागका अनुसार यस वर्षको कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ रुपैयाँ बराबर राजस्व संकलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व सङ्कलनको प्रवृत्तिले देखाएको छ ।

गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा पनि गिरावट आएको हो । असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो ।

विभागका अनुसार काठमाडौँ उपत्यकाभित्रका नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।

मालपोत कार्यालय गोटीखेल ललितपुरले ४ लाख ६७ हजार सात सय २० रुपैयाँ, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार छ सय ४५ रुपैयाँ र डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेका छन् ।

विभागका अनुसार मालपोत कार्यालयले चाबहिलले २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२ रुपैयाँ, कलङ्कीले १७ करोड आठ लाख ४४ हजार सात सय ५१ रुपैयाँ, साँखु कार्यालयले चार करोड ७९ लाख ५४ हजार नौ सय ४२ रुपैयाँ, मनमैजु कार्यालयले पाँच करोड ५० लाख ९३ हजार छ सय ३२ रुपैयाँ, टोखा कार्यालयले तीन करोड ५७ लाख २७ हजार छ सय ६५ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेका छन् । मुलुकभर एक सय ३३ वटा मालपोत कार्यालय छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal