Skip to content
Prabhu

फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाले बोटबिरुवाको मुआब्जा वितरण गर्दै

nabil

कालीकोट । कालीकोटमा निर्माण हुन लागेको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रूखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा वितरण गर्न लागेको छ।

जिल्ला प्रशासन कार्यालयबाट सूचना प्रकाशन गरेर अधिग्रहण गरेको जग्गाभित्र पर्ने रूखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा वितरण गर्न लागिएको हो । प्रशासनले चरण–चरणमा गरी २०७६ देखि जग्गाको लगत कट्टी गरेका जग्गाधनीलाई मुआब्जा वितरण गर्दै आएको छ ।

global
अर्घाखाँची सिमेन्ट

४ सय ८० मेगवाटको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि डुबान क्षेत्रमा पर्ने तथा अधिग्रहण गरिएका जग्गामा अवस्थित रूखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा वितरणको तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

‘फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाअन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका–१, २, ३ र ४ एवं रास्कोट नगरपालिका–६, ७, ८ र ९ तथा पचालझरना गाउँपालिका–१, २, ८ र ९ भित्र आयोजनाले अधिग्रहण गरेको जग्गामा रहेका ठाउँमा रूखबिरुवा तथा फलफूलका बोटबिरुवाहरुको मुआब्जा दिने प्रक्रिया सुरु भएको छ’, उनले भने, ‘जिल्ला क्षतिपूर्ति निर्धारण समितिबाट क्षतिपूर्ति निर्णय भएबमोजिम जग्गाधनीहरुलाई मुआब्जा दिने प्रक्रिया सुरु भएको छ ।’

जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा पर्ने सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाका ३ सय १३ जग्गाधनीले रूखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा पाउने फुकोट कर्णाली जलविद्यत् आयोजनाले जनाएको छ ।

आयोजनाले अधिग्रहण गरेका जग्गामा रहेका ठाउँमा रूख, बिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जाका लागि करिब २ करोड ५० लाख विनियोजन गरिएको आयोजना प्रमुख डम्मर उप्रेतीले बताए । ‘अहिले हामीले मुआब्जाका लागि निवेदन सङ्कलन गर्ने काम गरिरहेका छौँ’, उनले भने, ‘यही मङ्सिर २७ गतेदेखि परेका निवेदनमा छलफल गरेर मुआब्जा वितरणको काम हुन्छ ।’ मुआब्जा वितरणको काम चार वर्षदेखि भइरहेको र अधिकांश जग्गाको मुआब्जा वितरण सकिएको आयोजना प्रमुख उप्रेतीले जानकारी दिए।

‘फुकोट हाइड्रोले सिस्नेगडा ड्यामसाइडदेखि डुबान क्षेत्र भुराबगरसम्मको एक हजार २० रोपनी जग्गाको मुआब्जाका लागि लागत अनुमान रु ५५ करोडमध्ये हालसम्म ५० करोड रुपैयाँ रकम वितरण भइसकेको छ’, उनले भने, ‘अधिग्रहण गरिएको जग्गाको धेरैजसो वितरण भइसक्यो ।’

घरटहराका लागि विनियोजित १३ करोड रुपैयाँ रकम रहेको आयोजनाले जनाएको छ । रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र केही खाडाचक्र नगरपालिकाको केही भूभाग प्रभावित हुनेछ । आयोजनाको छ किमी मुख्य टनेलमार्फत पावर हाउसमा पानी खसालिनेछ । आयोजनाबाट वार्षिक दुई हजार चार सय ५५ गिगावाट आवर ऊर्जा उत्पादन गरिने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal