Skip to content
Prabhu

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

nabil

वीरगञ्ज । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालु आर्थिक वर्षको ५ महिनामा डिजेलको आयात १.१३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

सो अवधिमाराजस्व संकलनमा पनि ६.९१ प्रतिशतले गिरावट आएको छ । आव २०८१/८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको तीन लाख ६६ हजार सात सय १९ किलोलिटर डिजेल आयात भएको थियो ।

गत आवको सोही अवधिमा भने ४० अर्ब ३६ करोड ५० लाख १५ हजार रुपैयाँको तीन लाख ७० हजार नौ सय २० किलोलिटर डिजेल आयात भएको थियो । चालु आवको पाँच महिनाको अवधिमा डिजेल आयात घटे पनि पेट्रोल आयातमा भने वृद्धि भएको छ ।

चालु आवको पाँच महिनाको अवधिमा १६ अर्ब २१ करोड दुई लाख २७ हजार रुपैयाँ पर्ने एक लाख ८८ हजार तीन सय ४५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा भने १६ अर्ब ३९ करोड ८० लाख ६० हजार रुपैयाँ पर्ने एक लाख ६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको थियो । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलको आयात १६.२३ प्रतिशत र राजस्वको आधारमा भने १२ दशमलव ५२ प्रतिशतले बढेको उक्त कार्यालयले जनाएको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ । नेपाल आयल निगमले यो महिनाभित्रै पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउने गरी तयारी थालेको जनाएको छ ।

यसैबीच, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको समय सुरु भएकाले अब क्रमशः पेट्रोलियम पदार्थको खपत वृद्धि हुने बताएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal