Skip to content
Prabhu

कर्पोरेट कामको अधिक दबाब र चिन्ताले कसरी लिँदैछ ज्यान, के हो बच्ने तरिका ?

nabil
एजेन्सी । जापानी भाषामा एउटा शब्द छ– करोशी, जसको अर्थ हो कामको बोझले मृत्यु । भारतमा हालसालै यस्तो एक त्रासदी घटेको छ । सेप्टेम्बर महिनामा एक पीडित आमाले आफ्नी छोरीको बोसलाई चिठी लेख्दै त्यो ‘कार्य संस्कृति’को चर्को आलोचना गरिन् । जुन कामले बोसको मात्रै अन्धाधुन्ध महिमा गाउँछ र काम गर्ने मानिसको कुनै वास्ता गर्दैन् ।
उनकी जवान छोरी चार्टर्ड एकाउन्टेन्ट (सीए) ऐना सेबास्टियन पेरायिलको मृत्यु भएपछि आमामा आक्रोश उत्पन्न भएको थियो । ऐना वैश्विक लेखा र परामर्श संस्था ईवाईको सहकार्य एसआर बाटलीबायमा आफ्नो ‘ड्रिम जव’मा चार महिना दिनरात व्यस्त रहेपछि उनी एक दिन घरमा अचानक घरमा लडिन र उनको मृत्यु भयो । त्यो बेला उनी मात्रै २६ वर्षकि थिइन्् ।
ऐनाको आमाले चिठ्ठीमा लेखिन्, “कामको बोझ, नयाँ वातावरण र लामो समयसम्म लगातार काम गर्दा उनी शारीरिक, भावनात्मक, र मानसिक रूपमा पूर्ण रूपमा थकित भइन् । जागिर सुरु गरेको केही समयमै उनलाई बेचैनी, अनिद्रा, र तनावले घे¥यो, तर उनी आफैलाई जसोतसो अगाडि बढाइरहिन्, यो सोच्दै कि कडा मेहनत र लगन नै सफलता हासिल गर्ने बाटो हो,…तर लगातार बढ्दो माग र अस्वभाविक अपेक्षाहरू पूरा गर्ने दबाब झेल्न असम्भव छ, जसका कारण अत्यन्त सम्भावना बोकेको एक युवतीको ज्यान गयो ।”
बेचैनी, अनिद्रा, तनाव… अहिले कैयौँ देशक धेरै कामदारहरूले झेलिरहेको समस्या हो । विशेषगरी जेनजी वा सन् १९९५ देखि २०१२ को बीचमा जन्मेको पुस्ताले यसलाई गम्भीर रूपमा अनुभव गरिरहेका छन् ।
अनलाइन इमोशनल वेलनेस प्लेटफर्म युअरदोस्तको सन् २०२३ को एक सर्वेक्षणमा २ हजारभन्दा बढी कर्मचारीमध्ये ६०.१ प्रतिशतले अत्यधिक तनावमा रहेको बताएका थिए । जुन सन् २०२२ को तुलनामा ३०.३ प्रतिशतले बढी हो । तनावको प्रभाव २१–३० वर्ष उमेर समूहमा सबैभन्दा बढी छ । यस उमेर समूहका ६४.४ प्रतिशतले अत्यधिक तनाव अनुभव गरेको बताए । जबकि ४१–५० वर्ष उमेर समूहमा यो संख्या ५३.६ प्रतिशत थियो ।
यो तनाव स्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ । युवाहरूमा हृदयाघात सामान्यजस्तै भएको छ । सन् २०२१ मा एन्भायरोमेन्ट इन्टरनेशनल जर्नलमा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को अध्ययनले सन् २०१६ मा लामो समयसम्म काम गर्ने कारणले १९४ देशमा ७ लाख ४५  हजार १९४ जनाको हृदयाघात र मस्तिष्कघातले मृत्यु भएको देखाएको थियो । जुन सन् २००० को तुलनामा २९ प्रतिशत बढी हो ।
अध्ययनमा जो व्यक्ति हप्तामा ५५ घण्टा वा सोभन्दा बढी काम गर्छन्, तिनीहरूमा मस्तिष्कघात हुने सम्भावना ३५ प्रतिशत र हृदयाघातका कारण मृत्यु हुने सम्भावना १७ प्रतिशत बढी हुने देखाइएको थियो । जबकि हप्तामा ३५–४० घण्टा काम गर्नेहरूमा यस्तो हुँदैन ।
तनावको असर केवल शरीरमा मात्र नभई दिमागमा पनि गम्भीर असर पार्छ । यसले बेचैनी, निराशा, लगातार थकान, डिप्रेसन, र कहिलेकाहीं आत्महत्याका विचारहरू उत्पन्न गराउँछ । मनोवैज्ञानिक र परामर्श संस्था रेजिलिएन्सवक्र्सकी संस्थापक–निर्देशक करुणा भास्कर भन्छिन्, “यसलाई रबर ब्यान्डजस्तै ठान्नुहोस् । यदि तपाईं यसलाई धेरै तान्नुहुन्छ भने, यो चुँडिन्छ ।”
सायद त्यस्तै केही भारतको उत्तर प्रदेशको झाँसीमा बजाज फाइनान्सका कर्मचारी ४२ वर्षीय तरुण सक्सेनाको जीवनमा भयो । उनले गत  सेप्टेम्बर ३० का दिन आत्महत्या गरे । आफ्नो सुसाइड नोटमा उनले लेखेका थिए, “म ४५ दिनदेखि सुत्न सकेको छैन । मैले थोरै मात्र खाएको छु । म गहिरो तनावमा छु । वरिष्ठ म्यानेजरले मलाई जसरी पनि लक्ष्य पूरा गर्न वा जागिर छोड्न दबाब दिएका छन् ।” त्यही दिन, ४० वर्षीय बैंक म्यानेजर सुशान्त चक्रवर्तीले पनि मुम्बईको अटल सेतुबाट हाम फालेर आत्महत्या गरेका थिए । उनकी श्रीमतीले उनको मृत्युको लागि सरकारी बैंकमा कामको दबाबलाई दोषी ठहराएकी थिइन् ।
कार्यालयहरूमा यति धेरै तनाव किन?  
मानिसहरूले सधैं कडा मेहनत गरेका छन्, र मेहनत गर्नु आफैंमा समस्या होइन । कुनै पनि व्यक्ति आफ्नो उत्कृष्ट काम त्यतिखेर देखाउँछ जब उसले चुनौती सामना गर्छ । तनावको पूर्ण अभावले कर्मचारीहरूलाई सुस्त र लापरवाह बनाउन सक्छ । मनोवैज्ञानिक करुणा भास्कर भन्छिन्, “समस्या त्यतिखेर सुरू हुन्छ जब सहनशीलताको सीमा टुट्छ ।”
भारतमा अमेरिकाको सिलिकन भ्यालीबाट ल्याइएको ‘उठ र काम गर’ वा ‘छिटोछिटो गर’ जस्तो कार्य संस्कृति सबैभन्दा पहिले आईटी कम्पनीहरूमा अपनाइयो र त्यसपछि अन्य क्षेत्रहरूमा पनि फैलियो ।
हालै, इन्फोसिसका सह–संस्थापक र पूर्वसीईओ नारायण मूर्तिले दुःख व्यक्त गर्दै भने, “देशका युवाहरू पश्चिमबाट अवाञ्छित बानीहरू अपनाउँदैछन् । मेरो अनुरोध छ कि हाम्रो युवाहरूले भन्नुपर्छ– ‘यो मेरो देश हो । म हप्तामा ७० घण्टा काम गर्न चाहन्छु ।’ दोस्रो विश्वयुद्धपछि जर्मनी र जापानका मानिसहरूले त्यही गरे ।”
तर, यसका परिणामस्वरूप जापानले ‘करोशी’ (कामको बोझले मृत्यु) भोग्नुप¥यो । लामो समयसम्म काम गर्नु अझै पनि देशमा उत्पादकताको मापदण्ड मानिन्छ र आदर्श व्यवहार मानिन्छ । एडटेक कम्पनी अनअक्याडेमीका डिजाइन विभागका वरिष्ठ उपाध्यक्ष हार्दिक पाण्ड्याले मार्च २०२३ मा ट्वीट गरेका थिए, “जो भन्छन् तपाईंले सप्ताहान्तमा काम गर्नु हुँदैन, उनीहरूले शायद कहिल्यै उत्कृष्ट कामको अनुभव गरेका छैनन् ।”
त्यसैले आश्चर्य छैन कि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का पछिल्लो तथ्यांकअनुसार भारत ती देशहरूमध्ये दोस्रो स्थानमा छ, जहाँ लामो समयसम्म काम गर्ने कर्मचारीहरूको प्रतिशत सबैभन्दा बढी छ । ५१ प्रतिशतभन्दा बढी भारतीय कर्मचारीले हरेक हप्तामा ४९ घण्टाभन्दा बढी काम गर्छन्, जसको अर्थ हप्तामा पाँच दिन करिब १० घण्टा ।
आज कार्यालयको ड्यूटी सुरु वा अन्त्य गर्ने निश्चित समय छैन । २४÷७ सञ्चार प्रविधिको कारण कर्मचारीहरूले सधैं फोन वा इमेलमा उपलब्ध हुनुपर्छ । मेन्टल हेल्थ फस्र्ट एड इन्डियाकी प्रशिक्षक देविका धर्मराज भन्छिन्, “प्रत्येक सन्देशको तुरुन्त जवाफ दिने बोसको अपेक्षाले तनाव अझ गहिरिन्छ ।”
डिभाइसहरू आपसमा जडान भएपछि संसार जडान भयो । सेवा क्षेत्रको वृद्धि भएसँगै भारतीय कम्पनीहरूले संसारको आवश्यकता पूरा गर्न थाल्यो । विभिन्न समय क्षेत्रका मागहरू पूरा गर्न कर्मचारीहरूलाई राख्न थालियो ।
एचआर सोल्युसन्स फर्म सीआईईएल एचआरका सीईओ आदित्य मिश्र भन्छन्, “डेडलाइन बाह्य शक्तिहरू, विशेष गरी ग्राहकहरू, तय गर्न थाले । यो अव्यावहारिक थियो, जसले कम्पनीहरूलाई कामको तालिका तय गर्ने कुनै ठाउँ नै दिएन ।”
यो विशेष रूपमा क्लाइंट–सर्भिसिङ कम्पनीहरूमा देखियो, जसले आईटी र आईटीईएस, कन्सल्टेन्सी, मार्केटिङ, एकाउन्टिङ र कानूनजस्ता क्षेत्रमा काम गरिरहेका थिए । दिल्लीका ३० वर्षीय कन्सल्टिङ पेशेवर करण शर्मा (परिवर्तित नाम) भन्छन्, “हामी बिहान ९ बजे काम सुरु गथ्र्यौं र दिउँसो ३ बजेसम्म हाम्रो हङकङ मुख्यालयका सहकर्मीहरूसँग काम गथ्र्यौं । हरेक दिन, हामी लन्च पनि खाँदैनथ्यौं, पानीसमेत पिउन पाउँदैनथ्यौं, किनभने काम पूरा गर्न हतार भइरहेको हुन्थ्यो ।”
त्यसपछि उनी भोलिपल्टको रिपोर्ट तयार गर्थे, जुन प्रायः मध्यरातसम्ममात्र सकिन्थ्यो । उनी भन्छन्, “रातको १२ बजेदेखि १ बजेसम्म काम सकिएर बाहिरिनु सामान्य थियो ।”
दिमाग र शरीरमा तनावको असर  
लक्ष्यमा आधारित बिक्री र लगानी बैंकिङ जस्ता कामहरू अहिले चुनौतीपूर्ण बन्दै गएका छन् । यस्ता कर्मचारीहरूमा लक्ष्य पूरा गर्न निरन्तर दबाब हुन्छ, प्रायः ग्राहकहरूसँगको बैठकका लागि यात्रा गर्नुपर्छ र आर्थिक मन्दीका बेला थप तनाव सामना गर्नुपर्छ । कहिलेकाहीं कर्मचारीहरूले काम गर्ने वातावरण नहुँदा गुनासो पनि गर्छन् । प्रबन्धकहरूले आफ्नो निराशा तल्लो तहका कर्मचारीहरूमाथि थोपर्छन्, जवाफदेही लिन अस्वीकार गर्छन्, वा एकदम नराम्रो व्यवहार गर्छन् ।
त्यसैले अचम्म छैन कि भारतीय उद्योग परिसंघ र डिजिटल हेल्थकेयर प्लेटफर्म मेडिबडीले गत जुलाईमा सार्वजनिक गरेको संयुक्त प्रतिवेदनले एक हजार कम्पनीहरूको सर्वेक्षणमा ६२ प्रतिशत कर्मचारी कामसँग सम्बन्धित तनावले ग्रस्त छन् वा बर्नआउट भएको देखाएइएको थियो । यो प्रतिशत विश्वव्यापी औसतको (२० प्रतिशत) तीन गुणा बढी हो । देविका धर्मराज भन्छिन्, “हामी जिउँदो शरीर हौं, तर हामी आफैंसँग मेसिनसरह व्यवहार गरिरहेका छौं ।”
डेल कार्नेगी ट्रेनिङ इन्डियाकी अध्यक्ष र प्रबन्ध निर्देशक पल्लवी झाअनुसार मध्यम तहका प्रबन्धकहरूमा बर्नआउट सबैभन्दा धेरै देखिन्छ । तिनीहरू माथिल्लो व्यवस्थापनका रणनीतिहरू र त्यसको कार्यान्वयनबीचको पुल हुन् । तिनीहरूलाई मात्र नयाँ प्रविधिमा दक्ष बन्नु पर्दैन, तर माथिल्लो व्यवस्थापनको दृष्टिकोण प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको सुनिश्चित गर्नुका साथै आफ्नो टिमको प्रेरणा र मनोबललाई कायम राख्नुपर्छ ।
तर यसको अर्थ यो होइन कि माथिल्लो व्यवस्थापन तनावमुक्त छ । सीआईईएल एचआरका आदित्य मिश्र भन्छन्, “प्रविधिले व्यापार मोडेलमा परिवर्तन ल्याइरहेको छ । वातावरण प्रतिस्पर्धात्मक मात्र नभई अनिश्चित पनि छ । लाभमा अत्यधिक ध्यान केन्द्रित गरिएको छ । माथिल्लो व्यवस्थापनलाई न केवल अहिलेको व्यापार सञ्चालन गर्नुपर्छ, तर आफूहरू आगामी २–३ दशकसम्म सान्दर्भिक रहने सुनिश्चित पनि गर्नुपर्छ ।”
युवाहरूमा बर्नआउटको समस्या बढी  
तर जेनजी ( सन् १९९५–२०१२ बीच जन्मिएका) र मिलेनियल्स (सन् १९८१–१९९५ बीच जन्मिएका) जस्तो दबाब अरू कुनै समूहले झेलिरहेको छैन । बढ्दो महत्त्वाकांक्षा र चाँडै सफल हुने प्रवृत्तिका कारण उनीहरू कम उमेरमै प्रबन्धक बनिरहेका छन् । उद्योग संगठन नैसकामको एक सर्वेक्षणअनुसार टेक कम्पनीहरूमा ९० प्रतिशतभन्दा बढी कर्मचारी मिलेनियल्स र जेनजीका छन् । यी युवा न केवल तीव्र रूपमा माथि उक्लिरहेका छन्, तर त्यति नै छिटो कम्पनी परिवर्तन पनि गरिरहेका छन् ।
इन्फोसिसका पूर्वसमूह एचआर प्रमुख कृष्णमूर्ती शंकरका अनुसार, कर्मचारीहरूको लगातार आउजाउले कम्पनीभित्र प्रबन्धकहरूको कार्यकाल छोटो बनाएको छ । टिमहरू छिटो परिवर्तन भइरहन्छन्, प्रायः नयाँ अनुहारहरू मात्रै हुन्छन् । शंकर भन्छन्, “यसले प्रबन्धकहरूबीच आपसी सम्बन्धको कमी र दीर्घकालीन सोचको अभाव निम्त्याएको छ ।” यो विशेष गरी कोभिड महामारीको समयमा सुरु भएको हाइब्रिड कार्य व्यवस्थामा अझै बढी भएको छ । घरबाट काम गर्ने कर्मचारीहरू प्रायः अनदेखा र असुनिएको महसुस गर्छन् ।
स्मार्टफोन र सामाजिक सञ्जालमा हुर्केका जेनजी र केही हदसम्म मिलेनियल्समा बेचैनी, आत्मघातको प्रवृत्ति, र अन्य मानसिक विकार देखिएको छ । जुन पुरानो पुस्तामा देखिएको थिएन । सामाजिक मनोवैज्ञानिक जोनाथन हैड्टले आफ्नो पुस्तक द एङ्सियस जेनरेशनमा यही कुरा स्पष्ट पारेका छन् । उनले खेलकुदमा हुर्केका बच्चाहरूको तुलनामा फोनमा निर्भर बालबालिका जोखिम लिन, डरमाथि नियन्त्रण गर्न, चुनौतीहरूसँग जुझ्न, र गहिरा सम्बन्ध बनाउन कमजोर हुने बताएका छन् ।
शंकर भन्छन्, “यो प्रवृत्ति भारतमा पनि देखिँदैछ, जहाँ काम गर्ने उमेरका युवाहरूको मनोबल कमजोर छ । यस्ता व्यक्तिहरूले आजका उच्च–दबाबका कामहरूका लागि आवश्यक लचकता अभाव महसुस गर्छन् ।”
साथीभाइ र परिवारको समर्थन गर्ने बानी कमजोर हुँदै जानु पनि समस्या उत्पन्न गर्ने कारक बनेको छ । धर्मराज भन्छिन्, “हामीलाई खुशीका लागि सामाजिक सम्बन्ध, मित्रता र भाइचाराको आवश्यकता हुन्छ, तर मानिसहरूले १०–१२ घण्टा काम गर्न र २–३ घण्टा यात्रा गर्न खर्च गर्छन् । यसले उनीहरूको आराम गर्ने, सम्बन्धहरू कायम राख्ने वा व्यक्तिगत रुचिहरूलाई प्राथमिकता दिने समय समाप्त हुन्छ ।”
तनावले शरीरमा के असर गर्छ 
कामको डेडलाइन वा कुनै मिटिङको डरका कारण जब कसैले तनाव महसुस गर्छ, तब स्वाभाविक रुपमा शरीरमा ‘भाग्ने वा लड्ने’ प्रतिक्रिया उत्पन्न हुन्छ । सर गंगाराम अस्पतालका वरिष्ठ सल्लाहकार डा एसपी ब्योत्राका अनुसार यसले केही तनावजन्य हर्मोन र इन्जाइम उत्पन्न गराउँछ, जस्तै कोर्टिसोल, लिपिड, ट्राइग्लिसराइड्स (रगतमा बोसो), हिस्टामिन, एड्रिनेलिन, र ल्याक्टिक एसिड ।
यदि यो प्रतिक्रिया बारम्बार भइरह्यो भने, शरीर तनावप्रति बढी प्रतिक्रिया दिन थाल्छ, जसले गर्दा रक्त प्रवाहमा तनावजन्य हर्मोन र इन्जाइम जम्मा हुन्छ । अधिक मात्रामा जम्मा भएमा यी विषालु बन्न सक्छन्, जसले विभिन्न अंगहरू, विशेष गरी मुटुमाथि दबाब दिन्छ ।
डा ब्योत्रा भन्छन्, “यदि शरीर मनोवैज्ञानिक तनावमा रहिरह्यो भने, समयसँगै, यो रोगमा परिणत हुन सक्छ ।” त्यसैले, समयमै काम सम्पन्न गर्नका लागि शरीरमा दौडिने एड्रिनेलिनले थकावट पैदा गर्न सक्छ । शरीरलाई आराम, रिचार्ज र निद्राका लागि समयको आवश्यकता हुन्छ । लामो समयसम्म काम गर्दा ७–८ घण्टाको आधारभूत निद्राको आवश्यकता पनि पूरा हुँदैन ।
२३ वर्षको अनुभव भएका आइटी पेशेवर रोहिन बसु (नाम परिवर्तन) सम्झन्छन् कि कम्प्युटेसनल टेक्नोलोजी कम्पनीमा पहिलो काममा म्यानेजरले बिरामी हुँदाहुँदै उनलाई रातभर काम गर्न लगाए । उनी भन्छन्, “प्रत्येक दिन औसतमा १२ घण्टा काम गर्नु पथ्र्यो, र यो दुई वर्षसम्म चल्यो । अन्ततः मलाई नर्भस ब्रेकडाउन भयो ।”
तनावका लक्षणहरू विभिन्न प्रकारका हुन सक्छन् । माइग्रेन वा टाउको दुखाइ, उच्च रक्तचाप, मुटुको धड्कन बढ्नु, अपच, मांशपेशी वा जोर्नी दुखाइ, छालामा बिमिरा, भोक नलाग्नु वा बढी खानु, निद्रा नलाग्नु र थकावट जस्ता समस्याहरू देखिन सक्छन् । चिडचिडापन वा क्रोधित स्वभाव, मन उदास हुनु, ध्यान नलाग्नु र हर समय आफूलाई थिचिएको महसुस गर्नेसम्म हुन सक्छ ।
ग्यालपको सन् २०२४ को रिपोर्ट ‘स्टेट अफ द ग्लोबल वर्कप्लेस’ मा १६० देशका १ लाख २८ हजार २७८ कर्मचारीको सर्वेक्षण गरिएको थियो । त्यसमा भारतमा झण्डै एक हजार कर्मचारीमध्ये ३५ प्रतिशतलाई सधैँ रिस उठ्छ र ४२ प्रतिशतमा ‘दिनभर’ उदासी छाएको पाइयो । विश्वभरि यो औसत क्रमशः २१ प्रतिशत र २२ प्रतिशत छ । यसको मतलब भारतमा यो समस्या निकै बढी छ ।
तनावले मानिसहरूमा विश्वास र आत्मसम्मानको कमी ल्याउँछ, जसले गर्दा उनीहरू कम काम गर्न सक्छन् र जिम्मेवारीप्रति बेवास्ता गर्न थाल्छन् । केही मानिसहरू थलिएको जस्तो गर्न थाल्छन्, सहकर्मी र म्यानेजरसँग आँखा जुधाउन हिच्किचाउँछन्, र नकारात्मक सोचमा फस्न थाल्छन् ।
आर्टेमिस अस्पतालका मानसिक स्वास्थ्य र व्यवहार विज्ञानका मनोचिकित्सक तथा प्रमुख सल्लाहकार डा राहुल चण्डोक भन्छन् कि यसले मानिसहरूलाई नराम्रो बानीहरूमा फसाउँछ । उनी भन्छन्, “उनीहरू प्रायः धूम्रपान र बढी मदिरा पिउन थाल्छन्, जसले अन्य स्वास्थ्य समस्याको जोखिम बढाउँछ ।”
कामको तनावसँग कसरी सामना गर्ने  
डा ब्योत्राका अनुसार, कम्पनीहरूले आफ्ना कर्मचारीहरूका लागि सबैभन्दा राम्रो उपाय अपनाउनका लागि उनीहरूलाई हरेक दिन उचित निद्रा, व्यायाम, पोषण, र आरामको अवसर प्रदान गर्नुपर्छ । उनी भन्छन्, “यो धारणा नै गलत छ कि हप्ताका छ दिन कामका लागि मात्र हुन् र सप्ताहन्त आरामका लागि । स्वास्थ्यलाई यसरी खण्ड–खण्डमा विभाजन गर्न सकिँदैन । कामका दिनमै मानिसहरूले आराम र स्फूर्तीका लागि मौका पाउनुपर्छ ।”
कम्पनीहरूले नाफाको दौडमा व्यस्त रहँदा नै संसार बदलिएको छ । यसलाई लामो समयसम्मको कोविडको रूपमा सोच्न सकिन्छ । महामारीपछि संसारले, विशेष गरी जेनजी र मिलेनियल्सले, कामप्रतिको अपेक्षामा ठुलो परिवर्तन गरेको छ । अहिले कामलाई मात्र जीवनको मूल उद्देश्य मानिँदैन; यो जीवनको एउटा हिस्सा मात्र हो । अहिले घुमफिर, परिवारसँग समय बिताउने, र फरक–फरक अनुभव बटुल्नुलाई पनि उत्तिकै महत्त्व दिइन्छ ।
आजका युवाहरूका लागि, जो आफ्ना अभिभावकहरूका जस्तै आधारभूत आवश्यकताहरू खाना, घर, सुरक्षाका लागि संघर्ष गर्नुपर्दैन, काम पैसा कमाउने माध्यम मात्र बनेको छ । युअरदोस्तका पुनित मनुजा भन्छन्, “उनीहरू जीवनको ठुलो उद्देश्य खोजिरहेका हुन्छन्, र काम त्यसको एउटा हिस्सा मात्र हो । गिग इकोनोमी, स्ट्यान्ड–अप कमेडी, र फ्रिल्यान्सिङमा लाग्ने मानिसहरूको बढ्दो संख्यालाई हेरौँ । उनीहरूलाई पूर्णकालिक जागिरको मासिक तलबको सुरक्षा चाहिँदैन ।”
कर्मचारीहरूले कामका शोषणकारी वातावरणविरुद्ध आवाज उठाउन थालेका छन् र आफ्ना मानसिक स्वास्थ्यप्रति बढी सचेत भएका छन् । कम्पनीहरूले पनि यो महसुस गर्न थालेका छन् । आदित्य बिर्ला एजुकेसन ट्रस्ट र यसको मानसिक स्वास्थ्य पहल एमपावरका संस्थापक अध्यक्ष नीरजा बिर्लाका अनुसार बढ्दो संख्यामा कम्पनीहरू मानसिक स्वास्थ्यप्रति सचेत भइरहेका छन् तर यो पर्याप्त छैन। यो प्रवृत्ति अझ बढ्नुपर्छ ।
कम्पनीहरूले स्वास्थ्य लाभ, उचित क्षतिपूर्ति, र काम र जीवनको सन्तुलनका लागि नयाँ रणनीतिहरू बनाइरहेका छन् । उनीहरूले कर्मचारीहरूमा तनावको ध्यान राख्नुपर्छ । यदि लामो समयसम्म चिन्ता, तनाव, वा दुई हप्ताभन्दा बढी मन उदास रह्यो भने चिकित्सकको सल्लाह लिनुपर्छ ।
सीआईआई–मेडिबडीको सर्वेक्षणले देखाएको छ कि ७२ प्रतिशत जागिर खोज्ने व्यक्तिका लागि कर्मचारी कल्याण कार्यक्रम महत्त्वपूर्ण छ । यसले हरेक व्यक्तिको खुसीको उपायहरू र कार्यालयमा स्वास्थ्य सेवा उपलब्ध गराउने बढ्दो मागलाई झल्काउँछ ।
धेरैजसो ठूला कम्पनीहरूले परामर्श सेवा, हेल्पलाइन, र कल्याण छुट्टिको नीतिसहित मानसिक स्वास्थ्य लाभ प्रदान गर्न थालेका छन् । उदाहरणका लागि, विश्वव्यापी होम फर्निसिङ ब्रान्ड आइकियाले आफ्ना ३ हजार पाँच सयभ कर्मचारीहरूको स्वस्थ र सुरक्षित कार्य वातावरण बनाउन पूर्णकालिक स्वास्थ्य र कल्याण अधिकृत नियुक्त गर्छ । ब्याट्री बनाउने कम्पनी अमरा राजाले आफ्ना १७ हजारभन्दा बढी कर्मचारीहरूको खुसीको ख्याल राख्न आठ सदस्यीय टोली राखेको छ । साथै, २९ जना वरिष्ठ प्रबन्धक र २९४ सुपरभाइजरको एक सहायता नेटवर्क छ, जसले भावनात्मक खुसी बढाउनका लागि परामर्श र विवाद टार्ने उपायमा तालिम लिएको छ ।
मानसिक स्वास्थ्यका लागि परामर्श सहायता पनि महत्त्वपूर्ण मानिएको छ । अमरा राजा, आइकिया, र आरपीजीजस्ता कम्पनीहरूले हप्तामा २–३ पटक कार्यस्थलमै परामर्शदाता उपलब्ध गराउँछन्, साथै परिवारका सदस्यहरूका लागि अनलाइन सेवा पनि प्रदान गर्छन् ।
अमरा राजा समूहका अध्यक्ष (एचआर) जयकृष्ण बी भन्छन् “चार वा पाँच वर्षअघि, जब हामीले कार्यालयमा परामर्शदाता राख्न थालेका थियौँ, सायदै कोही परामर्शदाता कहाँ जान्थ्यो । तर अहिले, परामर्श चाहने व्यक्तिहरूको सङ्ख्या हरेक वर्ष १५–२० प्रतिशतले वृद्धि भइरहेको छ। यसले देखाउँछ कि कर्मचारीले कम्पनीमा आफ्ना चिन्ता साझा गर्न सुरक्षित महसुस गर्छन् ।” आजसम्म कर्मचारीहरूले ४५ सयभन्दा बढी परामर्श सत्रको फाइदा लिएका छन्, जसमा १८ सय अफलाइन र बाँकी अनलाइन थिए ।
तनावग्रस्त कर्मचारीका लक्षण 
धेरै क्षेत्रहरूमा सक्रिय आईटीसी समूहले मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै मोटोपन, कार्यालयको तनाव र कामको बोझ व्यवस्थापनजस्ता विभिन्न स्वास्थ्य सम्बन्धी विषयहरूमा मासिक वेबिनार आयोजना गर्दछ । यसको कर्पोरेट एचआर प्रमुख अमिताभ मुखर्जीका अनुसार, यसमा १ हजनार दुई सयभन्दा बढी मानिसहरू सहभागी हुन्छन् ।
अन्य कम्पनीहरूले पनि आफ्ना–आफ्ना विधिहरू अपनाएका छन् । मैरिकोका सीएचआरओ अमित प्रकाश भन्छन् कि उपभोक्ता उत्पादन कम्पनीले धेरै औपचारिक र अनौपचारिक फोरमहरू, त्रैमासिक सर्वेक्षण, स्किप–लेभल मिटिङ र पर्यवेक्षकहरूसँगको बैठकहरूको आयोजना गर्दछ, ताकि कर्मचारीहरूले आफ्नो चिन्ताहरू स्पष्ट रूपमा व्यक्त गर्न सकून् ।
आइकियामा एक आरामदायक ओछ्यान भएको शान्त कोठा पनि छ, जहाँ कर्मचारीहरूले आराम गर्न र आफ्नो थकान कम गर्ने स्थल बनाउन सक्छन् । आइकिया इण्डियाकी कन्ट्री पिपल एण्ड कल्चर म्यानेजर परिणीता सेसिल लाकडाका अनुसार उनीहरु सहज सम्झौता पनि उपलब्ध गराइरहेका छन् । यसको अर्थ, कुनै कर्मचारीले चाहेमा ४० घण्टाको सट्टा ३२ घण्टा वा अंशकालिक रूपमा काम गर्न सक्छन्, र परिस्थितिहरू सुधार भएपछि पुनः नियमित रूपमा काम गर्न सक्छन् । यस्तै, आरपीजी समूहले आफ्ना सबै कर्मचारीहरूलाई ५० प्रतिशत काम घरबाटै गर्न अनुमति दिन्छ ।
अगुआ स्थापित गर्नुहोस् उदाहरण
कम्पनीहरूले यो पनि महसुस गरेका छन् कि यस्ता पहलहरूमा माथिल्लो स्तरका व्यक्तिहरू सहभागी नगरे भने त्यो बेकार हुनेछ । त्यसैले, लाक्राडाका अनुसार आइकेया कम्पनीका उच्च स्तरका अधिकारीहरू खुलेर आफ्ना छुट्टीका अनुभवहरू साझा गर्छन् र अरूसँग पनि आफ्नो अर्जित छुट्टिको उपयोग गर्ने सल्लाह दिनुहोस् र यसरी उदाहरण प्रस्तुत गर्छन् । उनी भन्छिन्, “कम्पनीमा सबै स्तरका कर्मचारीहरूले ८५ प्रतिशतसम्म आफ्नो छुट्टिको उपयोग गर्छन् ।”
क्यापिलरी टेक्नोलोजीजका संस्थापक र सीईओ अनीश रेड्डी आफै मानसिक स्वास्थ्य र योग रिट्रिट आयोजना गर्ने पहलको नेतृत्व गरिरहेका हुन्छन् । जसले स्पष्ट सन्देश दिन्छ कि कम्पनी आफ्ना कर्मचारीहरूको सम्मान गर्छ । रेड्डी भन्छन्, “हामी हरेक वर्ष बैग्लोरका बाहिरी क्षेत्रहरूमा दुई यस्ता रिट्रीट आयोजना गर्छौं र जसमा एक सयभन्दा बढी कर्मचारी भाग लिन्छन् ।” कम्पनी कर्मचारीलाई विपश्यना ध्यानको १० दिनको कोर्सको लागि वार्षिक छुट्टीको अतिरिक्त ११ दिन छुट्टी प्रदान गर्छ । रेड्डी आफैं पनि हरेक वर्ष यो कोर्स गर्छन् ।
तर यी प्रयासहरू बाहेक कम्पनीहरूले आफ्ना संरचनामा विचार गर्न आवश्यक छ । यसको अर्थ के हो भने, उनीहरूले कर्मचारीहरूमा अवास्तविक लक्ष्य पूरा गर्ने दबाब बनाएर त्यसपछि उनीहरूलाई त्यसको सामना गर्न काउन्सलिङ्ग गराउने हो ? यसको सट्टा, यो निर्धारण गर्नुपर्छ कि कामका भूमिकाहरू र संसाधनहरू कसरी विभाजन गरिन्छ, किनकि यसले कामको बोझ र कामको समय निर्धारण गर्छ । डेल कार्नेगी ट्रेनिङ इंडिया की पल्लवी झा भन्छिन्, “लामो समयसम्म काम गर्नुको अर्थ पक्कै पनि यो हो कि कम्पनी आफ्नो मानव पूंजीमा पर्याप्त लगानी गरिरहेको छैन, र कामको बोझ साझा गर्नका लागि पर्याप्त कर्मचारी छैनन् ।”
उदाहरणको लागि, सेल्स टिमलाई आम्दानी बढाउन जोड दिन भनिएपछि एक सेल्समा सहयोगी टोली तयार गरियो । यस टोलीले सम्बन्धित अन्य कार्यहरू सम्हाल्न थाल्यो, जसले सेल्स टिमको समय बचत गर्यो । यति मात्र होइन, प्रबन्धकहरूको तालिम दिनु पनि महत्त्वपूर्ण छ, किनकि उनीहरूले आफ्ना टोलीहरूको लागि काम गर्ने तरिका तय गर्छन् । आरपीजी समूहका प्रमुख प्रतिभा अधिकृत सुप्रतीक भट्टाचार्य भन्छन् कि सीईओहरू जस्ता उच्च अधिकारीहरू एचआर प्रमुखसँग संवाद सत्रमा सहभागी हुन्छन् र त्यसपछि सीएचआरओ अन्य कर्मचारीहरूका लागि यस्ता बैठकहरूको आयोजना गर्छन् ।
कर्मचारीहरूको भलाईमा ध्यान नदिने कुरा घाटा पनि हुन सक्छ । डेलोइटको सन् २०२२ को सर्वेक्षणमा कार्यस्थलमा मानसिक स्वास्थ्य र कल्याणमार्फत भारतीय कम्पनीहरूले कर्मचारीहरूको अनुपस्थिति, कम उत्पादन र काम छोड्नका कारण अनुमानित वार्षिक १४ अर्ब डलरको नोक्सानी बेहोरिरहेका छन् ।इन्डिया टुडेबाट साभार
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal