काठमाडौं । असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण भएको क्षतिको बीमा कम्पनीहरुमा पौने १२ अर्ब रुपैयाँको दाबी पर्दा अधिकांश दाबी सम्पत्ति बीमामा परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जम्मा बीमा दाबीको ७१.७३ प्रतिशत सम्पत्ति बीमाको दाबी परेको हो ।
प्राधिकरणको तथ्यांकअनुसार बीमा कम्पनीमा बाढी पहिरोबाट भएको क्षतिको १२ अर्ब ८८ करोड ९३ लाख ६१ हजार ५७ रुपैयाँ २० पैसाको दाबी पर्दा सम्पत्ति बीमाको मात्रै ९ अर्ब २४ करोड ५८ लाख ९७ हजार ४९८ रुपैयाँको दाबी परेको छ । यो जम्मा दाबीको ७१.७३ प्रतिशत हुन आउँछ । बीमा कम्पनीहरुमा सम्पत्ति पछि सबैभन्दा धेरै दाबी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमालेखमा परेको छ । यसमा जम्मा दाबीको २२.३० प्रतिशत दाबी परेको छ ।
इन्जिनियरिङ तथा ठेकेदार जोखिममा २ अर्ब ८७ करोड ५२ लाख ९९ हजार ६९२ रुपैयाँको दाबी परेको छ । सम्पत्ति बीमा र इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा मात्रै ९४.०३ प्रतिशत दाबी परेको छ । सम्पत्ति बीमामा १ हजार ७७३ वटा बादी परेका छन् भने इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ३२१ वटा दाबी परेको प्राधिकरणको तथ्यांकले देखाएको छ । यो पुसर ११ गतेसम्मको तथ्यांक हो ।
प्राधिकरणको तथ्यांकअनुसार पुस ११ गतेसम्मको अवधिमा निजी मोटर बीमामा ४१ करोड १ लाख २८ हजार १५८ रुपैयाँ ५ पैसाको दाबी परेको छ । जुन जम्मा दाबीको ३.१८ प्रतिशत हुन आउँछन् । निजी मोटर क्षतिको ९५४ वटा बादी परेका छन् । त्यस्तै सार्वजनिक मोटर बीमामा २.१७ प्रतिशत दाबी परेको छ । बीमा कम्पनीहरुमा यस्तो शीर्षकमा २८ करोड १ लाख ९२ हजार ६३९ रुपैयाँ ४ पैसा दाबी परेको छ । यसमा ३९२ वटा दाबी परेका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार यो अवधिमा सामुद्रिक बीमालेखमा ४ करोड २० लाख ७८ हजार ८०९ रुपैयाँ ४९ पैसा दाबी परेको छ । यो जम्मा दाबीको ०.३२ प्रतिशत हो । सामुद्रिक बीमामा २३ वटा दाबी परेको छन् । बाढी पहिरोबाट अधिकांश सम्पत्ति र इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमालेखमा दाबी पर्दा अन्यमा भने न्यून देखिएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
पुसर ११ गतेसम्मको अवधिमा पशुपन्छी बीमालेखमा ५५ वटा दाबी परेका छन् । त्यसबाट १ करोड ७५ लाख ७२ हजार ७९७ रुपैयाँ २९ पैसाको दाबी परेको छ । यो जम्मा बीमाको ०.१३ प्रतिशत हुन आउँछ । यो अवधिमा कृषि बालि बीमामा १३७ वटा दाबी परेका छन् । त्यसबापत बीमा कम्पनीहरुले १ करोड ५ लाख ९१ हजार ६९५ रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिन्छ । यो जम्मा भुक्तानी गर्नुपर्ने दाबीको ०.०८२ प्रतिशत हो । विविध शीर्षकको बीमालेखमा २१ वटा दाबी परेका छन् । त्यसबापत कम्पनीहरुले ७५ लाख ९९ हजार ७६७ रुपैयाँ ६२ पैसा भुक्तानी दिनु पर्ने देखिन्छ । जुन जम्मा भुक्तानी गर्नु पर्ने रकमको ०.०५८ प्रतिशत हो ।
प्रतिक्रिया दिनुहोस्