काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी ४ खर्ब ३८ अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको कुल चुक्ता पुँजी ४ खर्ब ३८ अर्ब ४३ करोड ८० लाख रुपैयाँ पुगेको हो । यो चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्यांक हो ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब २४ करोड ८० लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ४ खर्ब ३२ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूको चुक्ता पुँजी ३ खर्ब ८० अर्ब ७६ करोड ५० लाख रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बढी हो । गत आवको कात्तिक मसान्तसम्मा वाणिज्य बैंकहरूको चुक्ता पुँजी ३ खर्ब ७६ अर्ब ७६ करोड ६० लाख रुपैयाँ थियो ।
त्यस्तै यो अवधिमा विकास बैंकहरूको चुक्ता पुँजी ४२ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २ अर्ब २१ करोड ३० लाख रुपैयाँ बढी हो । गत आवको कात्तिक मसान्तसम्मा विकास बैंकहरूको सबै विकास बैंकहरुको चुक्ता पुँजी ४० अर्ब २० करोड ७० लाख रुपैयाँ थियो ।
त्यस्तै चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १५ अर्ब २५ करोड २० लाख रुपैयाँ छ । जुन गत आवको सोही अवधिको तुलनामा ३ करोड ६० लाख रुपैयाँले बढी हो । फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी गत आवको कात्तिक मसान्तसम्ममा १५ अर्ब २१ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ६ हजार ४ सय ९१ वटा रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६२ वटाले धेरै हो । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा वाणिज्य बैैैंकहरूको शाखा संख्या ५ हजार ६५, विकास बैंकहरूको १ हजार १ सय ३७ र फाइनान्स कम्पनीहरूको २ सय ८९ वटा शाखा सञ्चालनमा छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखा संख्या ६ हजार ४ सय २९ वटा थियो । जसमध्ये वाणिज्य बैंकहरूको ५ हजार ८ वटा, विकास बैंकहरूको १ हजार १ सय ३३ वटा र फाइनान्स कम्पनीहरूको २ सय ८८ वटा शाखा सञ्चालनमा थिए । यसरी हेर्दा एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको शाखा संख्या ५७ वटा थपिएका छन् । त्यस्तै विकास बैंकहरुको शाखा संख्या ४ वटा र फाइनान्स कम्पनीको १ वटा शाखा थप भएको छ ।
त्यस्तै बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेका एटीएम काउन्टरको संंख्या ५ हजार २ सय ४४ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको ४ हजार ८ सय ३४ वटा, विकास बैंकहरूको ३ सय ४९ वटा र फाइनान्स कम्पनीहरूको ४१ वटा एटीएम काउन्टर सञ्चालनमा छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुका ५ हजार ५९ वटा एटीएम काउन्टर सञ्चालनमा थिए । जसमध्ये वाणिज्य बैंकहरूको ४ हजार ६ सय ६७ वटा, विकास बैंकहरूको ३ सय ४८ वटा र फाइनान्स कम्पनीहरूको ४४ वटा एटीएम काउन्टरहरू सञ्चानलनमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्