काठमाडौं । माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैंकहरुले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार दुइटा बैंकले घटाएका छन् भने एउटाले बढाएको छ । बाँकी १७ वटा बैंकले पुस महिनामा कायम गरेको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।
पुसको तुलनामा माघ महिनामा ब्याजदर घटाउने बैंक नेपाल एसबिआई बैंक र कृषि विकास बैंक छन् भने बढाउने बैंक लक्ष्मी सनराइज बैंक रहेको छ । नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ ।
लक्ष्मी सनराइज बैंकले भने यस्तो खाताको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको छ । दुई बैकहरुको ब्याजदर घटेपछि बैंकहरुको औषत ब्याजदर पनि सामान्य घटेको छ । पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको औषत ब्याजदर ०.०१५५ प्रतिशतविन्दु घटेको हो ।
त्यस्तै माघ महिनामा नेपाल बैंकले व्यक्तिगत मुद्दतीमा ५.६ प्रतिशत व्याज निर्धारण गरेको छ । त्यस्तै सिटिजन्स बैंकले ५.६५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.७५ प्रतिशत, नबिल बैंकले ५.७५ प्रतिशत, कुमारी बैंकले ५.९१ प्रतिशत र माछापुच्छ्रे बैंकले ६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । यी बैंकहरुको पुस महिनामा पनि ब्याजदर सोही कायम रहेको थियो ।
त्यस्तै माघ महिनाका लागि सिद्धार्थ बैंकले ६ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत, सानिमा बैंकको ६.०५ प्रतिशत, प्रभु बैंकको ६.१ प्रतिशत र प्राइम कमर्सियल बैंकको ६.२५ प्रतिशत ब्याजदर निर्धारण भएको छ ।
माघ महिनाका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत, हिमालयन बैंकले ६.२५ प्रतिशत, नेपाल इनभेष्टमेन्ट मेघा बैंकले ६.५ प्रतिशत, एनएमबी बैंकले ६.६ प्रतिशत र एनआईसी एसिया बैंकले ६.६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्