काठमाडौं । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बीमाका अधिकांश सूचकहरु बढेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर मसान्तसम्म बीमाको दायरामा पुगेको जनसंख्याबाहेक धेरै सूचक बढेका हुन् ।
प्राधिकरणको तथ्यांकअनुसार बीमा कम्पनीका कार्यालय संख्या, कर्मचारी संख्या, बीमाशुल्क संकलन, नवीकरण शुल्क संकलन, प्रथम जीवन बीमा शुल्क संकलन लगायतका सूचक बढेका छन् । तर, बीमाको दायरामा आएको जनसंख्या भने घटेको छ ।
प्राधिकरणको तथ्यांकअनुसार मंसिर महिनासम्म बीमाको दायरामा आएको जनसंख्या ४३.०२ प्रतिशत रहेको छ । यो म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहितको तथ्यांक हो । यो गत वर्षको सोही अवधिको भन्दा ०.०७ प्रतिशतले कम हो । गत आवको मंसिर मसान्तसम्म बीमाको दायरामा आएको जनसंख्या ४३.०९ प्रतिशत रहेको थियो ।
तथ्यांक अनुसार जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक) र म्यादि र लघुम्यादि जीवन बीमालेखको संख्या पनि घटेको छ । तथ्यांकअनुसार यो अवधिमा लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखबाहेक बीमाको पहुँचमा पुगेको जनसंख्या १६.९९ प्रतिशत रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनमा ०.३३ प्रतिशतले कम हो । गत आवको सोही अवधिसम्ममा यस्तो संख्या १७.२१ प्रतिशत रहेको थियो ।
त्यस्तै म्यादि र लघुम्यादी जीवन बीमालेख सहितको बीमाको दायरामा पुगेको जनसंख्या चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ३५.५२ प्रतिशत रहेको छ । यो पनि गत आवको सोही अवधिको तुलनामा १.४६ प्रतिशतले कम हो । गत आवको मंसिर मसान्तसम्ममा यस्तो जनसंख्या ३६.९८ प्रतिशत रहेको थियो ।
प्राधिकरणको तथ्यांकअनुसार मंसिर मसान्तसम्ममा जीवन बीमालेख संख्या (म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक) ०.४३ प्रतिशतले घटेको छ । मंसिर मसान्तसम्ममा यस्तो संख्या ५५ लाख १३ हजार ३४० पुगेको छ । जबकी गत आवको सोही अवधिमा यस्तो संख्या ५५ लाख ३६ हजार ८७२ रहेको थियो ।
त्यस्तै म्यादी र लघु म्यादी जीवन बीमा लेखको संख्यामा ५.४२ प्रतिशतले कमी आएको छ । गत आवको मंसिर महिनासम्मा यस्तो बीमालेखको संख्या ६३ लाख ५८ हजार ९६४ रहेको थियो भने चालु आर्थिक वर्षको मंसिर महिनासम्म यो घटेर ६० लाख १४ हजार १४७ पुगेको छ ।
यो अवधिमा वैदेशिक रोजगार बीमालेखको संख्या भने २३.८२ प्रतिशतले बढेको छ। गत मंसिरसम्ममा १८ लाख ६६ हजार ७१७ वटा यस्ता बीमालेख जारी भएका थिए भने चालु आवको मंसिर महिनासम्ममा २३ लाख ११ हजार ३९० वटा त्यस्ता बीमालेख जारी भएका छन् ।
प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा कुल सक्रिय जीवन बीमालेखको संख्या १ करोड ३८ लाख ३८ हजार ८७७ रहेको छ । जुन गत आवको सोही अवधिको भन्दा ०.५५ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिसम्ममा यस्तो संख्या १ करोड ३७ लाख ६२ हजार ५५३ रहेको थियो । त्यस्तै यो अवधिमा कुल निर्जीवन बीमालेखको संख्या ८.४ प्रतिशतले वृद्धि भएको छ ।
चालु आवको मंसिर महिनासम्ममा कुल निर्जीवन बीमालेख १२ लाख ७० हजार ६५७ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ११ लाख ७२ हजार ४४७ रहेको थियो ।
प्राधिकरणको तथ्यांकअनुसार प्रथम जीवन बीमाशुल्क संकलन १४ अर्ब ६ करोड २० लाख पुगेको छ । जुन गत आवको सोही अवधिको भन्दा २८.०२ प्रतिशतले धेरै हो । गत आवको मंसिरसम्ममा जीवन बीमा कम्पनीहरुले १० अर्ब ९८ करोड ४१ लाख रुपैयाँ संकलन गरेका थिए । नवीकरण जीवन बीमा शुल्क संकलन पनि २.५८ प्रतिशतले बढेको छ । चालु आवको मंसिर महिनासम्ममा कम्पनीहरुले यस्तो शुल्क ५२ अर्ब ८ करोड ३२ लाख संकलन गरेका छन् ।
गत आवको सोही अवधिमा ५० अर्ब ७७ करोड ३८ लाख रहेको थियो । प्रथम र नविकरण गरी कुल बीमा शुल्क संकलन समेत ७.१० प्रतिशतले वृद्धि भएको प्राधिकरणको तथ्यांकले देखाएको छ । चालु आवको मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ६६ अर्ब १४ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत आवको सोही अवधिमा यस्तो शुल्क ६१ अर्ब ७५ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा कुल निर्जीवन बीमा शुल्क संकलन पनि ११.२२ प्रतिशतले बढेको छ । गत आवको मंसिर महिनासम्ममा कम्पनीहरुले १५ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो शुल्क १७ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
जीवन र निर्जीवन गरी चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा ८३ अर्ब ६६ करोड १९ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । जुन गत आवको सोही अवधिको भन्दा ७.९४ प्रतिशतले धेरै हो । गत आवको समीक्षा अवधिमा ७७ अर्ब ५० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको थियो ।
प्राधिकरणका अनुसार यो अवधिमा जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या ०.३३ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या १ हजार ८३० पुगेको छ । गत आवको समीक्षा अवधिमा १ हजार ८२४ कार्यालय रहेका थिए। त्यस्तै निर्जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या ११.७४ प्रतिशतले बढेको छ।
मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरु कार्यालय १ हजार १६१ पुगेका छन्। गत आवको मंसिर महिनासम्ममा कम्पनीहरुका कार्यालय संख्या १ हजार ३९ रहेका थिए । जीवन र निर्जीवन दुवै गरी कुल शाखासंख्या ४.४७ प्रतिशतले वृद्धि भएको देखिएको छ । गत आवको मंसिरसम्मा २ हजार ८६३ कार्यालय रहेका बीमा कम्पनीहरुको कार्यालय संख्या चालु आवको मंसिर महिनासम्ममा २ हजार ९९१ पुगेको छ ।
त्यस्तै बीमा कम्पनीहरुको कर्मचारी संख्यामा पनि ३.२३ प्रतिशतले वृद्धि भएको छ । हाल बीमा कम्पनीहरुमा ११ हजार ८१८ जना कर्मचारी छन् । गत आवको मंसिर महिनासम्मा बीमा कम्पनीमा ११ हजार ४४८ जना कर्मचारी रहेका थिए । कर्मचारीको संख्या जीवन बीमा कम्पनीमा १.३३ प्रतिशतले बढेर ५ हजार ८८२ पुगेको छ । गत आवको मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमा ५ हजार ८०५ जना कर्मचारी रहेका थिए ।
त्यस्तै निर्जीवन बीमा कम्पनीहरुमा कर्मचारीको संख्या ५.१९ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुमा ५ हजार ९३६ जना कर्मचारी कार्यरत रहेका छन् । जुन गत आवको सोही अवधिसम्ममा ५ हजार ६३४ जना रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्