काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बीमा व्यवसाय १ खर्ब माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार पुस मसान्तसम्ममा बीमाको व्यवसाय १ खर्ब २ अर्ब ४८ करोड ३३ लाख पुगेको छ । यो अवधिमा जीवन बीमा कम्पनीको ८१ अर्ब १७ करोड ८६ लाख रुपैयाँ र निर्जीवन बीमा व्यवसाय २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
बीमाको दायर १ खर्बमाथि पुग्दा अझै पनि ८३ प्रतिशत जनासंख्या जीवन बीमाको दायराभन्दा बाहिर रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिसम्ममा वैदेशिक रोजगारीमा जानेहरुले बाहेक जम्मा १६.८१ प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा आएको छ । यसरी हेर्दा अझै पनि नेपालको कुल जनसंख्याको ८३.१९ प्रतिशत जनसंख्या बीमाको दायराभन्दा बाहिर रहेको देखिन्छ।
बीमा प्राधिरणको तथ्यांकअनुसार गत आवको सोही अवधिसम्म जीवन बीमाको दायरामा आउने जनसंख्या १७.०८ प्रतिशत रहेको थियो । यो (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमा लेख बाहेकको तथ्यांक हो ।) तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जीवन बीमाको दायरामा आएको जनसंख्या गत आर्थिक सोही अवधिको भन्दा ०.२७ प्रतिशतले घटेको हो ।
यो अवधिमा वैदेशिक रोजगारी बीमाले दायरा केही बढेको देखिएको छ । म्यादी तथा लघु म्यादी जीवन बीमा लेखसहित बीमाको दायरामा आएको जनसंख्या ३५.९७ प्रतिशत रहेको छ । गत वर्ष पुसमा ३६.७८ प्रतिशत रहेको थियो । म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख समेतलाई समावेश गर्दा कुल ४३.६२ प्रतिशत जनसंख्या जीवन बीमाको दायरमा आएको बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ । गत आवको पुससम्म ४३.५ प्रतिशत जनसंख्यामा बीमाको पहुँच रहेको थियो ।
सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रममार्फत बीमाको पहुँच विस्तारको घोषणा गर्दै आएको छ । तर, व्यवहारमा भने बीमाको दायरा नै घट्न पुगेको छ । बीमा कम्पनीहरुको शाखा सञ्जाल बढे पनि दायरा भने खासै विस्तार हुन सकेको छैन् । आर्थिक वर्ष २०८१÷८२ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुको ५४ हजार बढी बीमालेख सरेन्डर भएको छ । प्राधिकरणको तथ्यांकअनुसार पुस महिनासम्ममा ५४ हजार ४१४ वटा बीमालेख समर्पणवापत कुल ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको छ ।
हाल १४ वटा जीवन, १४ वटा निर्जीवन तथा ४ वटा निर्जीवन लघुबीमा र ३ वटा जीवन लघुबीमा कम्पनीहरु संचालनमा छन् । बीमा कम्पनीहरुको शाखा कार्यालय संख्या नै ३ हजार नाघिसेको छ । पछिल्लो १ वर्षमा समग्रमा बीमा कम्पनीहरुको शाखा सञ्जाल ४.६७ प्रतिशतले बढेको छ । त्यस्तै, बीमा कम्पनीहरुको कर्मचारी संख्यासमेत ११ हजार ४९८ बाट बढेर ११ हजार ९०१ पुगेको छ । १ वर्षमा कर्मचारी संख्या ३.५ प्रतिशतले बढेको हो ।
प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुको शाखा संख्या १ हजार ८४४ पुगेको छ । गत पुसको तुलनामा २.८८ प्रतिशतले शाख सञ्जाल विस्तार भएको देखिन्छ । यस्तै, निर्जीवन बीमा कम्पनीहरुको शाखा पनि ११.३५ प्रतिशतले बढेर १ हजार १५८ पुगेको छ । जीवन बीमा कम्पनीहरुमा ५ हजार ९ सय २६ तथा निर्जीवन बीमा कम्पनीहरुमा ५ हजार ९ सय ७५ कर्मचारी कार्यरत रहेका छन् । गत वर्षको पुसको तुलनामा जीवन बीमामा १.८६ प्रतिशत तथा निर्जीवन बीमामा ५.१९ प्रतिशतले कर्मचारी थपिएका छन् ।
गत आर्थिक वर्षको पुसको तुलनामा बीमाको दायरा खुम्चिएको भए पनि कुल सक्रिय जीवन बीमा लेखको संख्या भने २.०८ प्रतिशतले बढेकोे छ । यस्तै, निर्जीवन बीमा लेख संख्यामा पनि ८.१ प्रतिशतले वृद्धि भएको देखिन्छ । प्राधिकरणका अनुसार चालु आवको पुसमसान्तसम्म १ करोड ४० लाख ४१ हजार ३५३ जीवन बीमा लेख सक्रिय रहेका छन् भने कुल सक्रिय निर्जीवन बीमा लेख १५ लाख ५७ हजार ७ सय ९० छन् ।
चालु आवको पुससम्ममा प्रथम बीमा शुल्क संकलनमा २८.७३ प्रतिशतले वृद्धि भएको छ । गत आवको पुससम्ममा १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन भएकोमा चालु आवको पुससम्ममा १७ अर्ब ७८ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा नवीकरणीय जीवन बीमा शुुल्क ४.९४ प्रतिशतले बढेको छ । कुल जीवन बीमा संकलनमा ९.३७ प्रतिशतले बढेकोे छ । निर्जीवन बीमा शुल्क संकलन पनि ९.४२ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्