काठमाडौं । जानकी फाइनान्सको वित्तीय अवस्था निरन्तर रूपमा कमजोर बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीका अधिकांश सूचक नकारात्मक छन् ।
फाइनान्सलाई राष्ट्र बैंकले टेकओभर गर्नुपर्ने अवस्थामा पुगेको उसको वित्तीय विवरणले देखाउँछ । तर, यो कम्पनीको सेयर मूल्यमा भने उच्च वृद्धि भयो । यो कम्पनीको सेयर मूल्य आज ९.९८ प्रतिशतले वृद्धि भएर कारोबार भयो । प्रतिकित्ता ४२ रुपैयाँले बढेर यो कम्पनीको सेयर मूल्य ४६६ रुपैयाँ २० पैसा पुगेको छ । तर, केही दिनअघि सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो कम्पनीको खराब खर्जा नै ४० प्रतिशतभन्दा माथि पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा फाइनान्सको खराब कर्जा ४०.८८ प्रतिशत पुगेको छ । यो अवधिमा फाइनान्सको खुद नाफा २४ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यति मात्रै होइन पुस मसान्तसम्मको अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ८८.२० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.२० प्रतिशत र कुल सञ्चालन आम्दानी ८३.३४ प्रतिशत घटेको छ ।
पुस मसान्तसम्ममा फाइनान्सको प्रतिसेयर आम्दानी ७१ रुपयाँ ९१ पैसाले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ २१ रुपैयाँ ९४ पैसा रहेको छ ।
६९ करोड ४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको ६ लाख ९० हजार ७२८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएका छन् । कम्पनीको सेयरमध्ये ३५ लाख २१ हजार ४१२ कित्ता अर्थात् ५१ प्रतिशत प्रमोटर सेयर रहेको छ भने ४९ प्रतिशत अर्थात् ३३ लाख ८३ हजार ३१६ कित्ता सेयर पब्लिकको रहेको ।
केही समयअघि मात्रै पनि कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्यले लगातार सकारात्मक सर्किट कायम गरेर कारोबार भइरहेको थियो । तर, राष्ट्र बैंकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापनको जिम्मेवारी लिइरहेको छ । यो बैंकको सेयर कारोबार रोक्का हुनु भन्दा अघिल्लो कारोबार दिन पनि ४ प्रतिशतभन्दा बढीले बढेको थियो ।
यो कम्पनीको सेयर मूल्य कारोबार रोक्का हुनु भन्दा अघिल्लो कारोबार दिन पुस ९ गते ८१० रुपैयाँमा कारोबार भएको थियो । जुन अघिल्लो दिन पुस ८ गतेको भन्दा ३३ रुपैयाँ ४ पैसाले बढेको थियो । तर, बैंकलाई केन्द्रीय बैंकले पुस १० गते नै टेक ओभर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्