काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा छिमेक लघुवित्तको नाफा ५१ करोड नाघेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ५१ करोड १८ लाख रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्षको पुस महिनासम्म गत आवको सोही अवधिको भन्दा कम्पनीले १७.३३ प्रतिशतले नाफा वृद्धि गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४३ करोड ६२ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी सामान्य घटेपनि इन्मेरमेन्ट चार्ज घटेका कारण खुद नाफामा सुधार भएको हो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १.८८ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३८.१७ प्रतिशत बढेको छ ।
त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १.५० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७.५७ प्रतिशत बढेको छ । लघुवित्तको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा २४ करोड ८ लाख रुपैयाँबाट घटेर १२ करोड ७९ लाख रुपैयाँमा झरेको छ । जसका कारण सञ्चालन मुनाफा र खुद नाफा दुबै बढ्न पुगेको हो ।
दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ९९ रुपैयाँ ४४ पैसा पुगेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर ३१ रुपैयाँ ८४ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २३७ रुपयाँ ४९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.६७ गुणा रहेको छ । ३ अर्ब २१ करोड ५३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४ अर्ब ४२ करोड रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा लघुवित्तले ४० अर्ब १६ करोड ६८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ३७ अर्ब ८२ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्