काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा २४ अर्बभन्दा माथिको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ठूला र लघु निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब ७७ करोड ७० लाख रुपैयाँको व्यवसाय गरेका हुन् ।
तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले जस्तै निर्जीवन बीमाको हिस्सा पनि प्रदेशगत रूपमा बागमतीको नै बढी रहेको छ । तथ्यांकअनुसार माघ मसान्तसम्मको अवधिमा सात प्रदेशमध्ये ५ वटा प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले अर्ब माथिको कारोबार गर्दा दुई प्रदेशमा भने करोडमा समिति रहेको छ । प्राधिकरणको तथ्यांक अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट कम्पनीहरुले अर्बभन्दा माथिको व्यवसाय गरेका छन् भने कर्णाली र सुदूरपश्ची प्रदेशको व्यवसाय भने करोडमा मात्रै रहेको छ ।
निर्जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशबाट सबैभन्दा धेरै १६ अर्ब ५५ करोड ८७ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशबाट २३ करोड २५ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेका छन् । कम्पनीहरुले बागमती प्रदेशपछि धेरै बीमा शुल्क लुम्बिनी प्रदेशबाट संकलन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशबाट २ अर्ब १९ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
त्यस्तै चालु आर्थिक वर्षको माघ महिनासम्मको अवधिमा कोशी प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब १५ करोड १५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् भने मधेस प्रदेशबाट १ अर्ब ६७ करोड ११ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै गण्डकी प्रदेशबाट बीमा कम्पनीहरुले १ अर्ब ३२ करोड ५७ लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट कम्पनीहरुले ६३ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्