ढाका । विदेशी कामदारहरूबाट आउने रेमिट्यान्समा भएको वृद्धिका कारण बंगलादेशको विदेशी मुद्रा सञ्चिति फेब्रुअरीको अन्त्यसम्ममा लगभग २१ अर्ब अमेरिकी डलर पुगेको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार गत महिनाको फेब्रुअरी २७ सम्ममा देशको विदेशी मुद्रा सञ्चिति २० अर्ब ९० करोड डलर रहेको बङ्गलादेश बैंकको तथ्याङ्कले देखाएको छ ।
जनवरीको अन्त्यसम्ममा विदेशी मुद्रा सञ्चिति १९ अर्ब ९६ करोड अमेरिकी डलर रहेको थियो । यद्यपि, कूल सञ्चिति फेब्रुअरीको अन्त्यमा २६.१४ अर्ब डलर रहेको थियो । गत महिना विदेशी मुद्रा सञ्चिति बढाउन रेमिट्यान्सले महत्वपूर्ण भूमिका खेलेको अधिकारीहरुले बताएका छन् ।
बङ्गलादेशका लागि विदेशी मुद्राको प्रमुख स्रोत मध्ये एक रेमिट्यान्स फेब्रुअरीमा वार्षिक रूपमा २५ प्रतिशतले बढेर २.५३ अर्ब डलर पुगेको तथ्याङ्कले देखाएको छ ।
फेब्रुअरीको रेमिट्यान्स सन् १९७१ यता देशको इतिहासमा चौथो ठूलो मासिक प्रवाह भएको बताइएको छ । गत वर्षको डिसेम्बरमा बङ्गलादेशले अहिलेसम्मकै उच्च मासिक रेमिटेन्स आप्रवाह २.६४ अर्ब डलर रेकर्ड गरेको बंगलादेश बैंकले जारी गरेको तथ्याङ्कले देखाएको छ ।
सङ्कुचित विदेशी मुद्रा सञ्चितिलाई बढावा दिन केन्द्रीय बैंकले हालैका वर्षहरूमा विदेशमा बसोबास गर्ने र काम गर्ने लाखौं बंगलादेशीहरूलाई थप रेमिटेन्स आकर्षित गर्न प्रोत्साहन सहितका उपायहरू अघि बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस्