Skip to content

ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती

nabil bank

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो ।

रेडपाण्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ । तर पछिल्लो समय निकालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपाण्डा सङ्कटमा पर्ने जोखिम बढेकामा सरोकारवालाको चासो देखिएको छ ।

ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार मुलुकभरमा सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा छन् । अहिलेसम्म एकीन गणना नभए पनि सिकार आरक्षभित्र करिब ३०० को हाराहारीमा रेडपाण्डा रहेको उनले बताए । विसं २०७४ मा सिकार आरक्षले गरेको सर्वेक्षणमा रेडपाण्डाको सङ्ख्या निकै कम भएकामा अहिले झण्डै २०० देखि ३०० रहेको अनुमान गरेको सुवेदीले बताए ।

रेडपाण्डा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा माग गरेको उनको भनाइ छ । ढोरपाटन सिकार आरक्षको फागुने, सुर्तिबाङ, सुनदह, बार्से, भुस्तुङ, दोगाडी र सेङ ब्लकमा रेडपाण्डा भेटिएको उनले जानकारी दिए । पहिलेको तुलनामा अहिले रेडपाण्डा बढी मात्रामा देखिने गरेको सुवेदीको भनाइ छ ।

‘विसं २०७२ सम्म ढोरपाटनमा रेडपाण्डा छिटपुट रूपमा थिए, २०७४ सालमा सर्भे गर्दा सबै ब्लकमा रेडपाण्डा भेटिए, अहिले धेरै ठाउँमा बाक्लो रूपमा भेटिन्छन्’, उनले भने, ‘अहिले करिब ३०० को हाराहारीमा रेडपाण्डा ढोरपाटनमा रहेको हाम्रो आकलन छ, जुन सङ्ख्या मुलुकभरका राष्ट्रिय निकुञ्जमा भएको भन्दा बढी हो ।’

सिकार आरक्ष क्षेत्रबाहेक बागलुङका माथिल्लो वनक्षेत्रमा पनि रेडपाण्डा पाइने डिभिजन वन कार्यालयका प्रमुख सरोज पन्थीले बताए । बढ्दो डढेलो, जङ्गल फडानी र जनघनत्वका कारण यसको संरक्षणमा चुनौती बढेको उनको भनाइ छ । रेडपाण्डा संरक्षणका लागि स्थानीय सरकार जागरूक बन्नुपर्ने भन्दै स्थानीयलाई सचेत बनाउनुपर्ने पन्थीले बताए ।

खासगरी कर्णालीभन्दा पूर्वी क्षेत्रको उच्च पहाडी र हिमाली क्षेत्रमा रेडपाण्डा पाइने गर्छ । अहिले मुलुकका २३ हिमाली तथा पहाडी जिल्लामा मात्रै रेडपाण्डा पाइन्छ । रेडपाण्डाले खाने निगालोको टुसासमेत संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ । यो लजालु स्वभाव हुनेहुँदा यसलाई सामान्य पनि बाधा पुग्ने काम गर्न नहुने पन्थी बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi