Skip to content
Prabhu

पर्वतको जलजलाकी सावित्री खत्रीको लोभलाग्दो च्याउखेती

nabil

पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन् । कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले च्याउ र तरकारीखेतीबाट बर्सेनि १२ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छन् ।

चारवटा गुम्बज टनेलमा कन्ये र गोब्रे च्याउखेती उत्पादन गरी छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतको कुश्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक
खत्रीको भनाइ छ । यस वर्ष च्याउबाट मात्रै रु सात लाखभन्दा बढी आम्दानी भएको उनले बताए ।

global
अर्घाखाँची सिमेन्ट

‘च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु, उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन,’ कृषक खत्रीले भने । गोब्रे च्याउको प्रतिकिलो ५०० रुपैयाँ र कन्येलाई २०० रुपैयाँमा बिक्री गर्ने गरेका उनले गोब्रे च्याउबाट यस वर्ष पाँच लाख र कन्ये च्याउबाट दुई लाख रुपैयाँ आम्दानी भएको बताए ।

कच्चापदार्थसहितका साम्रगीसमेत तयार गर्ने गरेकी कृषक खत्रीले सात रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारीबाट पाँच लाख रुपैयाँको बिक्री गर्छन् । च्याउबाहेक मौसमअनुसार काँक्रो, घिरौंला, बोडी, सिमी, करेला, भन्टा, खुर्सानी, धनियाँ, गाजरलगायतका तरकारी उत्पादन गर्दै आएको बताए।

तीनवटै जिल्लाका सदरमुकाम नजिकै रहेको र कालीगण्डकी करिडोरअन्तर्गत मालढुंग–बेनी सडक नजिकै रहेकाले उत्पादित च्याउ र तरकारी बजारीकरणमा समस्या नरहेको उनले बताए । खत्रीले यस वर्ष उच्च प्रविधिको टनेल थपेर बाह्रै महिना च्याउखेती गर्न थालेका छन् । उनले वातानूकुलित टनेलमा जाडो तथा गर्मी दुवै याममा च्याउ उत्पादन हुने बताए। अब च्याउखेतीबाट निरन्तर आम्दानी हुने उनले बताए ।

सामाजिक एवं राजनीतिक रुपमा सक्रिय रहेकी खत्रीले राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा च्याउखेतीलाई विस्तार गर्दै गएकी छन् । वैदेशिक रोजगारीबाट फर्किएका श्रीमान् भीमबहादुर केसीले च्याउ र अन्य तरकारीखेतीको उत्पादन तथा बजारीकरणमा सघाइरहनुभएको छ । अहिले दम्पतीका अलावा समय–समयमा ज्यालादारी मजदुर खोजेर तरकारीखेती गर्ने गरेको उनको भनाइ छ ।

खेती गर्नलाई धेरै ठूलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रति श्रीमान्ले विदेश नगई सघाउन थालेको खत्रीले बताए । मेहनत गर्ने हो श्रीमान्ले विदेशमा कमाउने पैसा दुवै मिलेर यहीँ दुःख गरी कमाउन सकिने खत्रीको अनुभव छ ।

खत्रीले च्याउखेतीबाट भएको कमाईले छोरीलाई उच्च शिक्षाका लागि विदेश पठाउन सफल भएको छभने छोरालाई समेत निजी विद्यालयमा पढाएका छन् । यसका अलावा बैंकमा बचत गर्न सफल भएको उनले बताए । मेहनत र परिश्रम गर्ने हो भने पैसा कमाउन विदेश जान पर्दो रहेनछ भन्ने आफ्नो अनुभवले देखाएको उनले बताए ।

पछिल्लो समय गाउँपालिकामा व्यावसायिक रुपमा लाग्ने कृषकको आकर्षण बढेको रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । ‘गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, अबका दिनमा च्याउखेतीमा अनुदान समेत बढाउँछौँ,’ आचार्यले भने । च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो ।

च्याउमा तरकारी तथा मासुमा पाइने सबै प्रकारका प्रोटिन तत्व पाइने र सजिलैसँग पचाउन सकिने भएकाले बच्चादेखि वृद्धवृद्धाका लागि अति उपयोगी छ । च्याउमा पानीको मात्रा ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्वपूर्ण मानिन्छ । च्याउले क्यान्सर, मुटुरोगजस्ता रोग लाग्नबाट बचाउँछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal