बेइजिङ । बेइजिङस्थित नेपाली राजदूतावासको आयोजनामा आज मिति २०८२ बैशाख ८ गते राजदूतावास परिसरमा ‘नेपाली खाना महोत्सव २०२५’ सम्पन्न छ । नेपालको मौलिक रैथाने खानाको विशिष्ट स्वाद पस्कन र प्रवद्र्धन गर्न समेत यो कार्यक्रम सफल भयो । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं दौत्य सम्बन्ध र चीनमा नेपाल भ्रमण वर्ष २०२५ को उपलक्ष्यमा आयोजित यस कार्यक्रममा रैथाने खाना प्रवद्र्धनले महत्वपूर्ण सहयोग प¥याएको होटल संघ नेपालले जनाएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भिडियो सन्देशमार्फत नेपाली रैथाने खानामार्फत समग्र पर्यटन प्रवद्र्धनको अविष्मरणीय अनुभव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । स्वागत मन्तव्य राख्दै जनवादी गणतन्त्र चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीले विश्वका अन्य भागहरू भन्दा अद्वितीय प्रामाणिक नेपाली खानाको समृद्धिको बारेमा प्रकाश पार्नुका साथै सहभागीहरूलाई नेपालका परम्परागत परिकारहरूको आनन्द लिन नेपाल भ्रमण गर्न प्रोत्साहित गरे ।
त्यसैगरी, मन्तव्यकै क्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपालको मौलिक र रैथाने खानालाई विश्वव्यापीकरण गर्न विगतदेखि नै होटल संघ नेपालले कार्यक्रमहरु गरिरहेको हुँदा यस कार्यक्रममा समेत सहकार्य गरेको बताए । नेपाल पर्यटन बोर्डका निमिक्त निर्देशक सुनिल शर्माले समेत उक्त कार्यक्रममा प्रस्तुतिकरण दिएका थिए । उक्त कार्यक्रममा होटल संघ नेपालले दुईजना विज्ञ नेपाली सेफहरु उपलब्ध गराएको थियो ।
कार्यक्रममा विश्व पर्यटन गठबन्धनका उपाध्यक्ष सु पेङ, चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेजका उपमहासचिव जिन झान लिनले नेपाल र चीनको सांस्कृतिक र पर्यटन उद्योगहरू बीचको सहकार्यलाई सुदृढ पार्नुपर्ने आवश्यकता औंल्याए । होत्सवमा सेलरोटी, मोमो, योमारी, जुजु धौ, कागुनिको खीर, चतामारी, चोइला, बारा, गुन्द्रुक र मुस्ताङ आलु लगायतका नेपाली परिकारहरू प्रस्तुत गरिएको थियो । यसका साथै कार्यक्रममा थाङ्का, स्ट्याचु, पश्मिना, गायन कचौरा, कार्पेट, गहना आदि जस्ता विभिन्न नेपाली हस्तकलाका वस्तुहरू, नेपाली चिया र पानी प्रदर्शन गरिएको थियो। कार्यक्रममा नेपाली संस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा चिनियाँ सरकारी अधिकारीहरू, बोलिभिया, बुल्गेरिया, भारत, जापान, श्रीलंका र पानामाका राजदूतहरू सहित कूटनीतिक समुदायहरू, विश्व पर्यटन गठबन्धनका सदस्यहरू, चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेज, ट्राभल एण्ड टुर कम्पनीहरू, नेपाली र चिनियाँ समुदायहरू र मिडिया लगायत चार सयभन्दा बढी सहभागीहरू उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्