Skip to content

तरबूजा खेती गरेरै जीविका चलाउँँदै दुई सय परिवार

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबूजाखेती गर्दै आइरहेका हुन् ।

माघमा रोपेको तरबूजा चैतको अन्तिम हप्तादेखि बिक्रीका लागि तयार हुन्छ । ‘पहिला साइकल र गोरुगाडामा राखेर गाउँगाउँ डुलाएर गहुँसँग साट्दै तरबूजा बिक्री गर्नु पर्दथ्यो’, उनले भने, ‘हाल अटोमा राखेर सिधै महेन्द्रगर, झलारी, अत्तरियालगायत बजारमा लगेर बिक्री गर्छौँ, तरबूजा बिक्री गरेको पैसा हातोहात पाइन्छ ।’ बगरमा तरबूजा खेती गर्न वडा नं ३ का जोनापुर, पिपलाडीका बासिन्दा मात्रै संलग्न छैनन् । वडा नं ४ असैनाका स्थानीय बासिन्दाले पनि तरबूजा लगाएका छन् । उनीहरुले बगर बराबर भागबण्डा गरी तरबूजा, लौका, काँक्रा, फर्सीलगायत लहरे बाली लगाउने गर्छन् ।

एक परिवारलाई भागमा चार कठ्ठादेखि पाँच कठ्ठासम्म परेको स्थानीय बुधराम चौधरीले बताए । भागमा परेको बगरमा तरबूजालगायत खेती गरी प्रत्येक परिवारले एक सिजनमा रु एक लाखदेखि रु एक लाख २० हजारसम्म  आम्दानी गर्दै आएका छन् । बगरमा माघको पहिलो हप्तादेखि तरबूजा, लौका, काँक्रा रोप्ने गरिन्छ । ‘फागुनदेखि नै काँक्रा र लौका बेच्न सुरु गर्छौँ’, लालु चौधरीले भने, ‘तरबूजा बेच्न भने चैतको अन्तिम हप्तासम्म पर्खिनुपर्ने हुन्छ ।’

बगरमा उत्पादित लौका, काँक्रा, तरबूजा जोगाउन निकै सास्ती खेप्नुपर्ने अवस्था छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको स्याली नदीमा बगर खेती गरिएकाले जङ्गली जनावरले हरानी दिने गरेको लालुले बताए । उनीहरु माघदेखि नै झोपडी बनाएर बगरमा बस्ने गरेका छन् । ‘बगरमा लगाएका विरुवा हुर्काउन सिँचाइ गर्ने, मल राख्ने, गोडमेल गर्ने, छेकवार निर्माण गर्नमै दिन बित्ने गरेका छन’, अर्का स्थानीय छल्ली चौधरीले भने, ‘रातिका बेला जङ्गली जनावरबाट बिरुवा र त्यसमा लागेका फलहरु जोगाउन रखवारी गर्नुपर्ने हुन्छ ।’

अझै पनि किसानलाई यी खेतीका लागि बीउ खरिद गर्न भारतीय बजारकै भर पर्नुपर्ने अवस्था छ । अरु किसानलाई अनुदान दिए जस्तै बीउ, रासायनिक मल, कीटनाशक र सिँचाइ गर्ने साधनमा अनुदान दिनुपर्ने उनीहरु बताउँछन् । भारतीय नागरिकले बगरमा गरेको खेती हेरेर यहाँका किसानले खेती थालेका हुन् । बगर खेतीको आम्दानीले वर्षभरिको घरायसी खर्चसँगै बालबालिकाको विद्यालय खर्च धानिँदै आएको स्थानीय हिंगलाल चौधरी बताउँछन् । ‘१५ वर्षदेखि बगरमा खेती गर्दै आएका छौँ’, उनले भने, ‘सहयोग कतैबाट पाइएको छैन, आफ्नै बलबुतामा खेती गर्दै आएका छौँ ।’ स्याली, सनवोरा, दोदा नदीको बगरमा खेती गर्ने किसानको सङ्ख्या दुई सय बढी छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi