Skip to content

स्रोत नखुलेको १७ लाख ४६ हजारसहित कैलालीबाट २ जना पक्राउ

कैलाली । कैलालीमा स्रोत नखुलेको १७ लाख ४६ हजार ९ सय रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् । जिल्लाका छुट्टाछुट्टै ठाउँबाट सो रकमसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाको भजनी नगरपालिका–५ गुलरीयाघाट भन्सार कार्यालय नजिकै इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखिमपुर खिरी जिल्ला तिकुनियाका ३२ वर्षीय अमनकुमार गर्गलाई स्रोत नखुलेको ८ लाख ९६ हजार ६ सय ६० रुपैयाँ नेपालीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

उनका अनुसार गर्गले चलाइरहेको युपी ३२ एचएच ६७५३ नम्बरको भारतीय मोटरसाइकललाई जाँच गर्दा निजले सुर्केथैलीमा कम्मरमा बाँधेर राखेको अवस्थामा उक्त रुपैयाँ फेला पारिएको हो । उक्त रुपैयाँ, मोटरसाइकलसहित निजलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सत्ती पठाइएको छ ।

यस्तै, टीकापुर नगरपालिका–१ का १९ वर्षीय अर्मन चौधरीलाई स्रोत नखुलेको पाँच लाख ३१ हजार ४०० भारतीय रुपैयाँसहित पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

अवैध भारतीय रुपैयाँ लुकाइछिपाइ राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटी गएको प्रहरी टोलीले निज चौधरीले सञ्चालन गरेको अर्मन धागा एण्ड टेलरिङ सप्लायर्स पसलमा जाँच गर्दा उक्त रुपैयाँ फेला पारेको हो।

निज चौधरीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima