Skip to content

अवैध सुन कारोबारीको तथ्य सदनलाई जानकारी गराउन सांसदको माग

nabil
global ime

काठमाडौं । गाडीमा अवैध रूपमा बोकिएका सुन समातिने र तिनका चालक पक्रिने तर अवैध रूपमा सुनको कारोबार गर्नेहरू सार्वजनिक नगरिने क्रम अन्त्य गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रामहरि खतिवडाले केही समयअघि टोखामा समातिएको सुनमा चालकमात्र समातिएको, त्यसका साहु को हो? भन्ने अहिलेसम्म सार्वजनिक नभएकाले सदनलाई जानकारी गराउन माग गरे । आइतबार पनि रसुवामा अवैध रूपमा ओसारपसार भइरहेको सुन समातिएको थियो।

धेरै पैसा लिएर महिला कामदारलाई हाउस मेडका रूपमा विभिन्न देश पठाउन थालिएकाले कानुन बनाएर मात्र विदेश पठाउने व्यवस्था गर्न पनि उनले माग गरे । सांसद मनिष झाले न्यायालयप्रतिको विश्वास कम हुन थालेकाले विश्वास बढाउने वातावरण मिलाउन माग गरेका थिए ।

सांसद माधव सापकोटाले सिन्धुपाल्चोक जिल्लामा १४६ प्रकारका गुठी रहेको र त्यसका कारण किसान पीडामा रहेकाले विधेयक ल्याएर गुठी समस्या समाधान गर्न माग गरे ।

सांसद मैना कार्कीले कर्णालीलाई दया नभई सम्भावनाको दृष्टिकोणले हेर्न माग गर्दै जडीबुटी, अर्गानिक कृषिलगायत विषयमा कर्णालीको पहिचान बनेकाले त्यसको प्रबर्द्धन गर्ने गरी बजेटको व्यवस्था गर्न माग गरे ।

सांसद रणकुमारी बलम्पाखी मगरले घरेलु मदिरा उत्पादनलाई मान्यता दिने नीति बजेटमार्फत ल्याउन माग गरे । सांसद रमा कोइराला पौडेललले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले भक्तपुरको हनुमन्ते खोला किनारमा ढल बिच्छ्याउन सुरू गरेकामा अलपत्र भएकाले छिटो सम्पन्न गर्न माग गर्नुभयो । सांसद रामशङ्कर यादवले सुरू गरिएका योजना पूरा गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरे ।

सांसद रेखा शर्माले नेपाल संस्कृत विश्वविद्यालयलगायतलाई प्रवर्द्धन गर्नेगरी विशेष बजेटको व्यवस्था गर्न माग गरे ।

बैठकमा सांसदहरू महेश बस्नेत, मेटमणि चौधरी, मेनकाकुमारी पोखरेल, राजेन्द्र बजगाइँ, रूपा सोसी चौधरी, रोशन कार्की, लक्ष्मी तिवारी, लालवीर चौधरी, लेखनाथ दाहाल, बिजुला रायमाझी, रणेन्द्र बरालीलगायतले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T