Skip to content

मूलपानी–भुरीगाउँ सडक क्षेत्रका रुख कटानको प्रक्रिया अघि बढ्यो

कर्णाली । कर्णाली प्रदेशबाट लुम्बिनी र सुदूरपश्चिम दुई प्रदेशसहित तराईसँग जोड्ने छोटो सडकमार्ग मूलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडक क्षेत्रका रुख कटानको प्रक्रिया अगाडि बढेको छ ।

करिब १३ करोड रूपैयाँ लागतमा विसं २०७७, असार १६ गते रानीघाट–तेलपानी सडक स्तरोन्नति गर्न पूर्वाधार विकास निर्देशनालय सुर्खेत र थोदुङ–जागृति जेभीबीच ठेक्का सम्झौता भएको थियो ।

विसं २०८२ माघ २२ गतेसम्म निर्माणकार्य सम्पन्न गर्ने भनिए पनि उक्त सडक निर्माण अवधि सम्पन्न हुनै लाग्दासमेत भौतिक प्रगति दश प्रतिशत मात्र भएको जनाइएको छ। निर्देशनालयका अनुसार अब पनि उक्त जेभीले सोही बजेटमा निर्माणकार्य अगाडि बढाउनेछ ।

ठेक्का सम्झौता भई निर्माणको काम अगाडि बढेको छ वर्षपछि उक्त सडकअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने रुख कटान प्रक्रिया अघि बढेको हो । रुख कटानका साथै जग्गा भोगाधिकारको कानुनी प्रक्रिया पूरा नगर्दा निर्माणकार्य अलपत्र परेको थियो । अन्ततः सडक किनारामा पर्ने रुख कटानको प्रक्रिया अघि बढेमा अब उक्त निर्माण आयोजनाले पूर्णता पाउने अपेक्षा गरिएको छ ।

निकुञ्जले सडकको पहिलो खण्डमा पर्ने बराहताल गाउँपालिका १ को श्रीचौरदेखि तेलपानीसम्म पर्ने रुखको लगत संकलन प्रतिवेदन पूर्वाधार विकास निर्देशनालय सुर्खेतमा पेस गरेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने चार हजार एक सय रुख कटान गर्नुपर्ने रायसहितको प्रतिवेदन निर्देशनालयमा पेस गरेको हो ।

मध्यवर्ती क्षेत्रमापर्ने सडक किनाराका रुख कटानको कार्य अगाडि नबढ्दा लामो समयदेखि निर्माणको काम रोकिँदै आएको थियो । रुख कटनाका लागि प्रतिवेदनमा आवश्यक प्रक्रिया पूरा गरी सङ्घीय वन तथा वातावरण मन्त्रालयमा पेस गरिने पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक सूर्यबहादुर शाहीले जानकारी दिए।

उहाँका अनुसार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले अनुमति दिएपछि रुख कटानको प्रक्रिया सुरू हुनेछ । निर्देशक शाहीले भने, “सडकका क्षेत्राधिकारभित्रका चार हजार चार सय ८४ रुखको प्रतिवेदन फाइल वन विभागमा पठाइसकेका छाैं । सामुदायिक र राष्ट्रिय वन क्षेत्रका तीन सय ८४ र मध्यवर्ती क्षेत्रका चार हजार एक सय रुख काट्ने तयारी भइरहेको छ ।”

रुख कटानमा अन्य अल्झन नआए अबको एक वर्षभित्र आयोजनाले पूर्णता पाउने निर्देशक शाहीले बताए । उनका अनुसार भुरीगाउँबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको दूरी ५१ किलोमिटर छ । यो सडकको स्तरोन्नति र विस्तार भएको खण्डमा भुरीगाउँबाट वीरेन्द्रनगर एक घण्टाभित्रै पुग्न सकिन्छ ।

तत्कालीन जिल्ला पञ्चायतले विसं २०२५ मा हुलाकी सडकका रूपमा खोलेको ट्र्याकले ठाकुरबाबा नगरपालिका २ बर्दिया भुरिगाउँको अम्रेनीदेखि कर्णाली प्रदेशको बराहताल गाउँपालिकाको तेलपानी हुँदै वीरेन्द्रनगरलाई छुन्छ ।

सुर्खेत–भुरीगाउँ जोड्ने यो सडक पूर्णरूपले निर्माण हुनसके कर्णाली सहजै लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँग जोडिने र बजार विस्तारमा सहयोग पुग्ने देखिन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi