Skip to content

सप्तधामका रूपमा चुँदी रम्घालाई विकसित गरिँदै

दमौली । आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास गर्न पहल गरिएको छ । भानु नगरपालिका–४ चुँदी रम्घास्थित आचार्यको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन सप्तधाम निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।

भानु जन्मस्थल जाऊँः भानुलाई चिनाऔँ भन्ने नाराका साथ नेपाल, नेपाली र भानुवासीको पहिचान हेतु भानु जन्मस्थलको विकासका लागि सुरुआत गरिएको हो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले प्रारम्भिक गुरुयोजनाअन्तर्गत आदिकवि भानुभक्तको विशाल प्रतिमा, सप्तधाम निर्माण, जग्गा अधिग्रहण, साहित्यिक उद्यान, पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारबाट विनियोजित बजेटका साथै दातृ निकाय एवं देशविदेशमा आवश्यक समन्वय गरिने बताए।

चुँदी रम्घालाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको त्रिपाठीको भनाइ छ । उनले भने, ‘राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा भानुभक्त आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भअनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडि बढेका छौँ ।’

साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिने छ । उहाँका अनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ ।

नगरप्रमुख त्रिपाठीले भने, ‘भानु साहित्य उद्यानको मूल उद्देश्य भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका रूपमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण गर्नु हो । नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरूको संरक्षण संवर्द्धनका निम्ति विविध कार्यक्रम सञ्चालन गरिनेछ ।’

नगरपालिकाले पर्यटन क्षेत्रलाई समेत प्राथमिकतामा राखेको छ । नगरपालिकाभित्रका पर्यटनसँग आबद्ध संस्थालाई सक्रिय र सङ्गठित बनाउँदै पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउइने छ ।

त्यस्तै घरबास (होमस्टे)हरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन एवं दर्ता र नवीकरण गरी ‘होमस्टे सर्किट’को विकासका साथ नेपालको मौलिक कला र संस्कृति झल्किने खाना, पहिरन तथा रोधी, घाँटु, लाखेनाच, चुट्का, झाम्रेलगायतका पहिचान संरक्षण तथा प्रवर्द्धन हेतुले भानु नगरको होमस्टे जाऊँ भन्ने नारालाई सार्थक तुल्याउन समुदायले सञ्चालन गरेका होमस्टे प्रवर्द्धनका लागि पूर्वाधार निर्माण र व्यवस्थित रूपमा होमस्टे सञ्चालनमा सहयोग गरिने त्रिपाठीले उल्लेख गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi