Skip to content

बागलुङका किसानलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार

nabil
global ime

बागलुङ । यहाँका कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि जिल्लाको १० वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको हो ।

यहाँको निसीखोला, तमानखोला, ताराखोला गाउँपालिका, ढोरपाटन, गलकोट, जैमिनी नगरपालिकाको माथिल्लो क्षेत्रमा अन्य ठाउँमा भन्दा बढी आलु उत्पादन हुने गर्छ । थोरै लगानीमा धेरै आलु उत्पादन गर्न सकिने हुँदा ‘खायन आलु’को क्षेत्र विस्तार गर्दै आएको कृषि ज्ञान केन्द्र प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/८१ देखि खायन आलुखेतीको क्षेत्र विस्तार गर्न थालिएको प्रमुख सिलवालको भनाइ छ ।

उनका अनुसार २०८०/८१ मा २ करोड ६० लाख, २०८१/८२ मा १ करोड ५९ लाख र चालु आर्थिक वर्षमा ५५ लाख ९० हजार रुपैयाँ रकम आलुखेती क्षेत्र विस्तारमा खर्च गरिएको छ । खायन आउलु क्षेत्र विस्तारसँगै नयाँ प्रविधिको प्रयोग, मलखाद व्यवस्थापन गर्ने, सिँचाइ व्यवस्थापन गरी उन्नत जातको बिउ लगाइने प्रमुख सिलवालले बताउनुभयो । यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु विस्तार गर्ने लक्ष्य छ ।

प्रमुख सिलवालले भने, ‘बागलुङ जिल्लामा खायन आलु राम्रो उत्पादन हुने गरेको छ, किसान पनि उत्साहित छन्, आलु उत्पादन गरेर जीविकोपार्जन गर्न यस कार्यक्रमले टेवा पुर्याउँछ ।’

हाल जिल्लामा तीन हजार ७०० हेक्टरमा आलु खेती हुँदै आएको छ । अघिल्लो वर्ष ५६ हजार २४० मेट्रिकटन आलु उत्पादन भएको थियो । यस वर्ष किसानले आलु भित्राइसकेका छैनन् । बागलुङका किसानले उत्पादन गर्ने आलु बागलुङ, पोखरा, बुटवल, चितवनलगायतका शहरमा पुग्ने गरेका छन् ।

खायन आलुमा सिँचाइ र मलको व्यवस्थापन हुने हुँदा उत्पादन बढ्ने ढोरपाटन नगरपालिका–५ का किसान कृष्णलाल कँडेलले बताए । यो आलु खेती गर्न थालेपछि बर्सेनि आलु उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बागलुङले यस वर्ष रु ३७ लाख लगानीमा खाद्यन्न बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि सहकारी तथा समूहमार्फत खाद्यन्न बाली प्रवर्द्धन गर्न थालेको हो । कम्तीमा एक समूहले एउटा बाली १०० रोपनीमा खेती गर्नुपर्ने ज्ञान केन्द्रले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T