नेपालको राजनीतिमा लामो समयदेखि भूसको आगो सल्किरहेको थियो । भूसको आगो भित्र भित्रै सल्किन्छ । त्यो आगो कहिलेबाट, कसरी सल्कियो भन्दा पनि अब खोज्ने विषय भनेको त्यो आगोले आजको दिनमा कस्तो परिणाम दियो भन्ने नै हो ।
आजको दिनमा देशले यस्तो दुर्दशा भोग्नुको मुख्य कारण भनेको अहिलेको नेतृत्वको कमजोरी हो । यो नेतृत्वले जोगाउन नसकेको छुच्चा बचन हो ।
आफुले आफुलाई सर्वज्ञाता ठान्नु, जनताको चाहना बुझ्न नसक्नु, आफने बारेमा आएको रचनात्मक सुझाव सुन्न नसक्नु, यस्ता सुझावलाई सुझावको रुपमा लिनु भन्दा पनि रिसिबी लिने माध्यम बनाउनु, मनमा देश र जनतालाई राखेर काम गर्नु भन्दा पनि आफु, आफ्ना आसेपासेका लागि काम गर्दाको परिणाम अहिले नेताले देशै छोडेर भाग्नु पर्ने अवस्था बनेको छ ।
सीमित व्यवसायीको चंगुलमा फसेको यो सरकारले हुँदा खाने समुदायको लागि अपवादबाहेक कहिल्यै केही काम गर्न सकेन । सधै बिचौलीको आडमा बसेर हुने खाने समूदायका लागि काम गर्यो । बिना लगानी, बिना उद्योगभन्दा, बिना कलकारखाना नेता र तिनका आसेपासे अर्बौपति बने । उनीहरुले कसरी त्यो रकम आर्जन गरे भनेर नकसैले सोध्ने आँट गरे, नकसैले जवाफ दिने नै आँट गरे ।
कुनै पनि सरकारले देशमा रोजगारी बढाउने नीति ल्याउन सकेनन् । ल्याएको कार्यान्वयन गर्न सकेनन् । त्यसको मुख्य कारण भनेको ‘बिचौलीया बुई चढाइको अर्थ व्यवस्था’ नेता, तिनका कार्यकाकर्ता, उच्च पदस्थहरुले बिना मेहनत अर्बौ कमाउन दुख गर्न नपर्ने । सामान्य जतनाले कुनै रोजगारी नपाउने । खाडीमा ५० डिग्रीको गर्मीमा बेल्चा हानेर, रगत पसिना बगाएर पठाएको रेमिट्यान्समा धेरैले मस्ती गरे । जब यसको विरोध सामाजिक सञ्जालमा हुन थाल्यो त्यसपछि सरकारले सहन सकेन ।
भित्रै भित्रै सल्केकोे भुसको आगो एकाएक दन्केको आगोमा घिउ हाले झै भयो । जेनजीहरुले करिब एकसाता अघि नेता, बिचौैलीया, उच्च पदस्थ अधिकारी, उद्योगी, ब्यापारीको सन्तानको बिलासी जीवनलाई सार्वजनिक गरे । नेता तथा शक्तिमा हुनेहरुले गरेको राजस्व छली, भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दको विरोध सोमबार भयो । गत साता एमालेले आयोजना गरेको विधान सम्मेलनमा सहभागी .एक नेताको गाडीले सडक पार गर्दा बालिकालाई दिएको ठक्कर र त्यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निम्छरो टिप्पणीलाई सबैले हेरिरहेका थिए ।
पछिल्लो समय सामाजिक सञ्जालमा केही लेख्नासाथ नेपाल प्रहरीको साइबर ब्यूरो लगाएर सबै मुख बन्द गर्ने निकै तल्लो स्तरको सोचमा प्रधानमन्त्री केपी शर्मा ओली थिए ।
ओलीले मलाई धन सम्पत्ति के काम, ने मेरा छोर, न मेरा छोरी भन्दै कु तर्क गर्दै देशलाई भित्रभित्रै खोक्रो बनाउने काममा धेरै ठूलो योगदान दिएका छन् । उनले दिएको योगदान नेपाली काँगेसका सभापति शेर बहादुर देउवा, माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल ।
लामो समयदेखि देशले युवा तथा नयाँ नेतृत्व खोज्यो भनेर भनियो । नयाँ नेतृत्व भन्नासाथ ओलीले छोडे देउवा, देउवाले छोडे, प्रचण्ड यी ने तीन नेताको परिपरि सत्ता घुमिरहेको छ ।
यी नै तीन नेताले आफु भन्दा तल्लो दर्जाका नेतालाई आउन दिएनन् । नेपाली जनताको चाहना अनुसार नेताहरु चल्ने हो भने अब सबै पुराना पार्टीले तेस्रो दर्ताको नेताहरुलाई नेतृत्व हस्तान्तरण गर्नुको बिकल्प छैन ।
हामीले यो विशेष सम्पादकीय लेखिरहेको समयमा नै प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएका छन् । उनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिएर पुग्दैन । पार्टी नेतृत्वबाट नै राजीनामा दिनुपर्छ ।
समयमा नै ओली, देउवा, प्रचण्डले नेतृत्व हस्तान्तरण गरेको थियो भने सोमबार देशभर १९ जना युवाले मृत्युवरण गर्नुपर्ने थिएन । काठमाडौंको बानेश्वर चोकमा मात्रै सोमबार सुरक्षाकर्मीको गोली लागेर कीर्तिपुरका ४१ वर्षीय बुद्धबहादुर तामाङ, उदयपुरका बेलका ४ का २९ वर्षका सन्तोष विक, बाँकेका २५ वर्षका सुलभदास श्रेष्ठ, ठेगाना नखुलेका १९ वर्षका सयिम चौलागाई, काठमाडौं बनस्थलीका २६ वर्षका ईश्वर अधिकारी, वतन नखुलेको २९ वर्षका आयुष थापा, वतन नखुलेको २७ वर्षका गौरव जोशी, सिन्धुपाल्चोक बाह्रबिसे ६ का २१ वर्षीय योगेश श्रेष्ठको मृत्यु भएको छ । त्यसैगरी अर्घाखाँचीका १८ वर्षका निश्चल सारु मगर, गोरखा बारपाक सुलीकोट ५ का २२ वर्षका विमल भट्ट र अर्का एक जनाको नाम र ठेगाना नखुलेका युवाको सिभिल अस्पतालमा मृत्यु भएको छ ।
बनस्थलीका वर्ष ३० का सौरभ किशोर श्रेष्ठ, बझाङ घर भई कीर्तिपुर बस्ने २३ वर्षीय सुशन बोहोराको केएमसी अस्पतालमा मृत्यु भएको छ । त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा २३ वर्षका रसिद खतिवडाको मृत्यु भएको छ । बानेश्वरको एभरेष्ट अस्पतालमा तीन जनाको मृत्यु भएको छ । तीमध्ये ललितपुर महानगर ७ का ३० वर्षका विनोद महर्जन, काभ्रे तिमालका ४२ वर्षका दली नारायण तामाङ र भक्तपुर दुवाकोटका २३ वर्षका योगेन्द्र न्यौपाने छन् ।
सत्तामा रहेका योजना बिनाका औठाछाप क्रुस शासकका कारण आज यस्तो अवस्था आएको हो ।
कमजोर गृह प्रशासन, मनमौजी राजीतिक नेतृत्व, शक्तिशाली बिचौलीयाले आज यति शुन्दर देशलाई छिन्नभिन्न बनाउन खोजेका छन् ।
मंगलबारका कतिपय घटना नहुनुपर्ने थियो । शान्ति खोज्ने भन्दैको हिंसालाई प्रश्रय दिनु कदापी ठिक होइन ।
आज घटेका तमाम घटनाले अहिलेको नेतृत्व मात्रै होइन अब आउने कुनै नेतृत्वले पनि गलत गर्न हुँदैन भनेर पाठ सिक्नै पर्छ ।
युवा जागेको २ दिनमा नेतृत्वले देश छोड्नुपर्ने अवस्था आउनु सामान्य विषय होइन । यसरी नै युवा जाग्ने र राजीनिक दलका तेस्रो तहका नेताले अवसर पाउने हो भने देश यसरी नै बनाउनु पर्छ । तीन दलका प्रमुख नेताले सार्वजनिक रुपमा माफी गरेर राजनीतिक रुपमा सन्यास लिएको घोषणा गर्नुपर्छ । नयाँ सर्वपक्षिय ढंगले सबैले स्वीकार गर्ने व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन र नयाँ निर्वाचन अबको बिकल्प हो ।












प्रतिक्रिया दिनुहोस्