Skip to content

काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै

काठमाडौं । ‘जेनजी’ आन्दोलनपछि शान्तिसुरक्षा असहज हुँदा असामान्य बनेको काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । शान्ति सुव्यवस्था कायम गर्ने सिलसिलामा अझै पनि निश्चित समय निषेधाज्ञा र कफ्र्यु कायम रहे पनि बिहान र बेलुकाको समयमा दैनिक जनजीवन सामान्य बन्दै गएको छ ।

यससँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापार व्यवसाय खुल्दै गएका छन् । सडकमा अत्यावश्यक सेवाका अतिरिक्त चारपाङ्ग्रे र दुईपाङ्ग्रे सरकारी, निजी सवारीसाधन निर्वाध रूपमा गुड्न थालेका छन् ।

चोकचोकमा सेनासहितका सुरक्षा निकायका गस्तीले पनि नागरिकलाई सुरक्षाको प्रत्याभूति गरेकाले जनजीवन सहज बन्न पुगेको हो । आन्दोलनका क्रममा विस्थापित भएका प्रहरी कार्यालयबाट सेवा प्रवाह सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

खासगरी काठमाडौंको सहरी इलाकामा बिहान सबेरै दैनिक उपभोग्य सामग्री किनमेलका लागि भीड जस्तै देखिन्थ्यो । व्यवसायीले कालीमाटी, बल्खु, माछापोखरी, लगनखेलगायत क्षेत्रमा पुगेर तरकारी तथा फलफूल र दुग्धजन्य पदार्थ संकलन गरी बिक्री गरेका थिए ।

आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका भवन तथा संरचनाको सरसफाइ, फोहर व्यवस्थापन कार्य तदारुकताका साथ अघि बढेका छन् । सिंहदरबारभित्रका मन्त्रालय तथा कार्यालयका कर्मचारी पनि सेवा प्रवाहमा सहजीकरण ल्याउन र दैनिक कामकाज गर्ने वातावरण बनाउन खटिएका छन् ।

सडकमा भेटिएका प्रायःजसोले आन्दोलनको क्षतिको कुरा गरिरहँदा पुरातात्विक महत्त्वको प्रमुख राजनीतिक–प्रशासनिक केन्द्र सिंहदरबार जलेकामा चिन्ता र दुःखेसो पोखेको सुनिन्थ्याे । आगजनीबाट नष्ट भएको संसद् भवन, सिंहदरबार तथा व्यावसायिक भवनमा भएको क्षति अवलोकन गर्न घुइँचो देखिन्थ्यो ।

आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि सरसफाइको काम भइरहेको देखिन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi