काठमाडौं । देशमा हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कुल बीमा दाबी रकम करिव २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार ९९ वटा बीमा दाबीको करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ दाबी रकम रहेको तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट नेपाल बीमा प्राधिकरणमा प्राप्त भएको छ ।
निर्जीवन बीमा कम्पनीहरूले कूल दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब १ अर्ब ५८ करोड ५६ लाख बीमितहरूलाई भुक्तानी गरिसकेका छन् । आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७१० वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमकहरूबाट प्राप्त भएको छ ।
कुल बीमा दाबीमध्ये सम्पत्ति बीमातर्फ ६५३ वटा दाबी परेको र दाबी रकम करिब १९ अर्ब ६ करोड ७६ लाख रुपैयाँ रहेको छ । सम्पत्ति बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी बीमकहरूले करिब १ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेका छन् ।
सम्पत्ति बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि ५९८ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट हालसम्ममा ५२ वटा सर्भे रिपोर्ट प्राप्त भएको निर्जीवन बीमकहरूले जानकारी दिएका छन् ।
यसैगरी, मोटर बीमामा २ हजार २०६ वटा दाबी परेको र दाबी रकम करिब ३ अर्ब ४१ करोड ६ लाख रुपैयाँ रहेको छ । बीमकहरूबाट मोटर बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव २४ करोड ९१ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ ।
आन्दोलनका क्रममा मोटरहरूमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १ हजार ९३९ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३१४ को सङ्ख्यामा सर्भे प्रतिवेदन बुझाएको जानकारी बीमकहरूले दिएका छन् ।
यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९० वटा दाबी परेको र दाबी रकम करिव रू. ३८ करोड ३ लाख रहेको छ । बीमकहरूले इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
आन्दोलनका क्रममा इञ्जिनीयरिङ तथा ठेक्कामा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १२६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइसकिएको र सर्भेयरहरूबाट हालसम्ममा ५ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बीमकहरूले दिएका छन् ।
यसैगरी, परिवहन बीमातर्फ बीमा दाबी १२ वटा र दाबी रकम करिव १ करोड ६३ लाख रुपैयाँ रहेको छ । परिवहनमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि बीमकहरूले ११ वटा दाबीका लागि बीमा सर्भेयर खटाएका छन् ।
अन्य बीमातर्फ बीमा दाबी ३८ वटा परी दाबी रकम करिब ३५ करोड ३७ लाख रुपैयाँ रहेकोमा हालसम्ममा करिव ५ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी भएको जानकारी प्राप्त भएको छ ।
अन्य बीमातर्फको क्षतिको मूल्याङ्कन एवं अनुगमनका लागि ३६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट ३ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् ।
नेपाल बीमा प्राधिकरणले बीमितहरूको हित संरक्षणलाई प्रमुख प्राथमिकतामा राखी बीमा दाबी प्रक्रियालाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आएको छ ।
बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन र समयमैं सम्पन्न गर्नका लागि सर्भे प्रतिवेदन प्रस्तुत गर्ने समयसीमा, दाबी छानबिनको पारदर्शिता र बीमितको सहज पहुँचलाई विशेष प्राथमिकतामा राखिएको छ ।
साथै, प्राधिकरणले बीमकहरूबाट भइरहेको दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन समेत गरिरहेको छ। बीमितहरूको अधिकार सुनिश्चित गर्नका लागि दाबी भुक्तानी सम्बन्धी कार्यमा थप सुधार ल्याउँदै तीब्रता दिनसमेत प्राधिकरणले बीमा कम्पनीहरूलाई निर्देशन छ ।
प्रतिक्रिया दिनुहोस्