ललितपुर । गत भदौ २३ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिद विनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
आज यहाँ आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले सहिद महर्जनकी आमा लता महर्जनलाई ५ लाख रुपैयाँ खातामा जम्मा गरिएको भौचरसहित समवेदना पत्र प्रदान गरे।
यही असोज १० गते बसेको महानगर कार्यपालिका बैठकले गरेको निर्णयअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरिएको महानगरप्रमुख महर्जनले जानकारी गराए । ‘सुशासन कायम र भ्रष्टाचारको अन्त्यका लागि भएको आन्दोलनमा योगदान दिएकामा राष्ट्रले नै सहिद घोषणा गरिसकेकाले महानगरले संवेदनासँगै यो सानो सहयोग उपलब्ध गराएको हो । शव अन्त्येष्टिमा समेत महानगरले सहयोग गरेको छ’, उनले भने ।
महानगरका प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष राजु महर्जनले सहिद महर्जनको योगदानको सम्मान र परिवारलाई सहानुभूतिस्वरुप सहयोग गरिएको बताए।
सहिद महर्जनका दिदी विना महर्जनले आफ्नो भाइले देशको परिवर्तनका लागि योगदान दिएकाले ललितपुर महानगरभित्र सालिक निर्माण गरिदिन आग्रह गरे ।







प्रतिक्रिया दिनुहोस्