Skip to content

तिहारमा महानगरभित्र विदेशी फूल बिक्री गर्न प्रतिबन्धित, फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान

nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ ।

महानगर प्रहरी बलले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनका लागि महानगरले आगामी कात्तिक १ देखि ६ गतेसम्म ३२ स्थानमा फूल बिक्री केन्द्र स्थापना गरेको जानकारी दिए ।

‘अवैध रुपमा विदेशबाट आयात गरिएका फूल बिक्रीमा प्रतिबन्ध लगाउनु र स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनु नै हाम्रो उद्देश्य हो, अवैध रुपमा विदेशबाट आएका फूललाई महानगरपालिकाले जफत गर्नेछ’, उनले भने ।

महानगरपालिकाले काठमाडौंको नयाँबानेश्वरस्थित एनवी सेन्टर, शङ्खमुलको बिगमार्ट, नयाँ बानेश्वरको आइप्लेक्स मल, मध्यबानेश्वरको सेल्सबेरी, बत्तिसपुतलीको फोनेक्स टावर, तीनकुनेचौर, सिफल चौर, चाबहिलको एसी कम्लेक्स, चाबहिल गणेशस्थान, केएल टावर, चाबहिल सेन्टर अगाडि, स्वयम्भूको धर्मचक्र पार्क, कालिमाटी ब्याङ्वेट, कालिमाटी धौखेलबाट बिक्रीवितरण गरिनेछ ।

यस्तै, कलङ्कीको भाटभटेनी, नयाँबजारको भ्याली कोल्डस्टोर्स, माछापोखरीको बुद्धमल, नयाँबसपार्क पुल, हाँडीगाउँको गणेशमन्दिर, सामाखुशीको कोइरालामार्ट, महाराजगञ्जको सेल्सबेरी, गोङ्गबुको बिगमार्ट, बालुवाटारको बिगमार्ट, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौँ मल, पुरानो बसपार्क, पुतलीसडकको न्यूप्लाजालगायतका स्थानबाट बिक्रीवितरण हुने महानगर प्रहरी प्रमुख पाण्डेले बताए ।

त्यस अवसरमा नेपाल चेम्बर अफ कमर्शका कृषि, वन तथा जडीबुटी समितिका सभापति कृष्णमान श्रेष्ठले स्वदेशी फूल स्वदेशमा प्रयोग गर्ने मुख्य उद्देश्यका साथ विगत तीन वर्षदेखि काठमाडौं महानगरपालिकाको समन्वयमा नेपाली फूललाई प्रोत्साहन गरिँदै आएको बताए।

नेपाल फ्लोलिकल्चर एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले कृषक र राज्यलाई समृद्ध बनाउनका लागि महानगरले लिएको नीतिलाई कार्यान्वयनका लागि एशोसिएसनले सहयोग गर्ने बताए।

एशोसिएसनले नेपाली फूललाई प्रोत्साहन गर्नका लागि आगामी असोज २९ देखि कात्तिक २ गतेसम्म १८औं गोदावरी फूल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए। एसोसिएसनले हाल काठमाडौं उपत्यकामा तिहारका लागि ४० लाख माला खपत हुने अनुमान गरेको छ । नेपालमा उत्पादित फूलले नेपालको बजार धान्नसक्ने एसोसिएसनले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi