Skip to content

काठमाडौं महानगरले भन्यो- ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा समस्या भयो, घरभित्रै राख्नु

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरभित्रबाट फोहोर बाहिर ननिकाल्न आह्वान गरेको छ। शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा समस्या भइरहेकाले सुरक्षित तरिकाले फोहोर घरको कम्पाउण्डभित्रै राख्न अनुरोध गरेको हो।

बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरूले ल्याण्डफिल साइट प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गर्नुपर्ने, प्रभावित क्षेत्रलाई अधिग्रहण गरेर मानव बस्तीरहित हरियाली क्षेत्र कायम गर्नुपर्ने, अस्पतालजन्य, विषादीजन्य र औद्योगिक फोहोरमैला फाल्न नपाइने गरी व्यवस्था गर्न माग गरेका छन्।

काठमाडौंबाट फोहोर बोकेर गएका ट्रक तीन दिनदेखि ल्याण्डफिल साइट पुग्न पाएका छैनन्। बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति‍ले विभिन्न माग राखेर फोहोर बिसर्जन गर्न दिएको छैन।

समितिका संयोजक श्रीराम ढुंगानाले फोहोर बिसर्जन गर्न आफूहरूले नै नदिएको बताए। ‘तीन दिनदेखि हामीले फोहोर यता ल्याउन दिएका छ‌ैनौं,’ उनले भने, ुकाठमाडौं महानगरले सधैं आश्वासन मात्र दिने तर हाम्रो मागहरू पूरा गर्न चासो देखाएन। त्यसकारण फोहोर फाल्न रोकेका हौं।’

ल्याण्डफिल साइटमा अवरोध भएपछि नुवाकोटका प्रमुख जिल्ला अधिकारीले पनि सहजीकरणको आग्रह गर्दै पत्राचार गरेको ढुंगानाले बताए। ‘अब जसले पत्राचार गरे पनि हाम्रो माग र पहिलेका सम्झौता कार्यान्वयन नभएसम्म ल्याण्डफिल साइट अनिश्चितकालीन रूपमा अवरूद्ध हुन्छ,’ उनले भने।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima