Skip to content

हुँदै नभएको घरको नक्सा पास गरी भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा

काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नभएको घरलाई बनेको भनी नक्सा पास गरेर बैंकबाट ३३ लाख ७५ हजार रुपैयाँ ऋण निकालिएको प्रकरणमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव–इन्जिनियर जय कुँवर, असिस्टेन्ट सव–इन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्ति नाथ विरुद्ध आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार शान्ति नाथले बेलडाँडी–२ मा रहेको कित्ता नम्बर ३५७ क्षेत्रफल ४०० वर्ग मिटर जग्गामा कुनै भवन नै नभएको अवस्थामा पनि “पक्की घर बनेको” झुट्टा तथ्य राखी सेती कन्सल्टेन्सीमार्फत नक्सा बनाएर गाउँपालिकामा अभिलेखीकरण गराएका थिए। तत्कालीन प्रशासकीय अधिकृत जोशीसहितका इन्जिनियरहरूले सो नक्सा प्रमाणित गरिदिएपछि उनले लक्ष्मी सनराईज बैंकबाट दुई चरणमा गरी ३३ लाख रुपैयाँभन्दा बढी ऋण लिइन्।
आयोगबाट खटिएको टोली र नापी कार्यालय बेलौरीले स्थलगत निरीक्षण गर्दा सो जग्गामा कुनै पनि संरचना नभएको किटानीसहित उल्लेख भएको प्रतिवेदन आएपछि नक्कली नक्सा तयार पारी बैंकबाट ऋण निकाल्ने कार्य मिलेमतोमा गरिएको निष्कर्ष आयोगले निकालेको हो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T