Skip to content

पाल्पा सिमेन्टको आईपीओ स्थानियले किनेन्न, आवेदन समय थपियो

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा अपेक्षित आवेदन नपरेपछि आवेदन दिने अवधि थप गरेको छ।

कम्पनीले पुस २५ गतेदेखि स्थानीयका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो। तर स्थानीय बासिन्दाबाट न्यून आवेदन परेपछि कम्पनीले आवेदन अवधि लम्ब्याउने निर्णय गरेको हो। अब उक्त आईपीओमा माघ ११ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर हुने ७५ करोड रुपैयाँको ७५ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ। सोमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको हो।

उक्त आईपीओ पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) तथा खानी अवस्थित पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई लक्षित गरी जारी गरिएको हो। आईपीओमा आवेदन दिन न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको नेट प्रिजेन्ट भ्यालु १२ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ रहेको छ भने इन्टरनल रेट अफ रिटर्न १३.७८५ प्रतिशत रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ६ वर्ष ८ महिना र डिस्काउण्टेड लगानी फिर्ता अवधि ९ वर्ष १२ महिना रहेको छ।

उद्योगको कुल क्षेत्रफल १० बिघा १३ कठ्ठा १२ धुर रहेको छ भने खानीको खुला क्षेत्रफल १७२ रोपनी ११ आना ३ पैसा १ दाम रहेको छ। कम्पनीले २०७६ वैशाखदेखि क्लिंकर र २०७७ वैशाखदेखि सिमेन्ट उत्पादन सुरु गरेको हो। हाल कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता १,८०० मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता २,२०० मेट्रिक टन रहेको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले नबिल बैंकका तानसेन, बर्दघाट, बुलिङटार र गैंडाकोट शाखा, प्रभु बैंकका पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा तथा सिद्धार्थ बैंकका पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

उद्योग तथा खानी प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर आवेदन फाराम प्राप्त गर्दा २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ। कम्पनीले आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life