काठमाडौं । पाकिस्तानको पहलमा अमेरिका र इरान दुई साताका लागि युद्धविराममा सहमत भएका छन्। पाँच सातादेखि जारी अमेरिकी–इजरायल आक्रमणको तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेका हुन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ तथा सेना प्रमुख आसिम मुनीरसँगको वार्तापछि यस्तो सहमति बनेको जानकारी दिएका छन्। ट्रम्पका अनुसार यदि इस्लामिक रिपब्लिक अफ इरान होर्मुज़ स्ट्रेटमार्गे जहाजहरूको सुरक्षित आवागमन तत्काल र पूर्ण रूपमा खुला गर्न तयार हुन्छ भने अमेरिका इरानमाथि जारी आक्रमण दुई साताका लागि रोक्नेछ।
ट्रम्पले भने, “म इरानमाथिको बमबारी र आक्रमण दुई हप्ताका लागि रोक्न सहमत छु। दुबै पक्ष युद्धविराममा सहमत भएका छन्।”
उनका अनुसार होर्मुज़ स्ट्रेट खोलिनु युद्धविराम कार्यान्वयनको मुख्य शर्त हुनेछ।
यता, इरानका उपविदेशमन्त्री अब्बास अराघचीले पनि अमेरिकी हमला रोकिए युद्धविराम स्वीकार्न तयार रहेको बताए। “दुई हप्ताको अवधिमा होर्मुज़ स्ट्रेटबाट जहाजहरूको सुरक्षित आवागमन सम्भव हुनेछ,” अराघचीले भने। उनका अनुसार यो व्यवस्था इरानी सशस्त्र फौजसँगको समन्वयमा लागू गरिनेछ र आवश्यक प्राविधिक पक्षलाई ध्यानमा राखिनेछ।
यसअघि ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई लिएर कयौं चेतावनी र डेडलाइन दिएका थिए। उनले वाशिङ्टन समयअनुसार मंगलबार राति ८ बजेदेखि नयाँ आक्रमण सुरु हुन सक्ने चेतावनी दिएका थिए। चार घण्टाभित्र इरानका प्रत्येक पुल र पावर प्लान्ट “नष्ट” हुने दाबीसमेत गरेका थिए।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए, “पाकिस्तानका नेतृत्वले आज रात इरानमाथिको विनाशकारी सैन्य कारबाही रोकिनुपर्छ भनेका कारण म दुई साताका लागि आक्रमण रोक्न तयार छु—तर सर्त एउटै हो, इरानले होर्मुज़ स्ट्रेट तुरुन्त, पूर्ण रूपमा र सुरक्षित रूपमा खोल्नैपर्छ।”
यस सहमतिसँगै मध्यपूर्वको तनाव केही शान्त हुने अपेक्षा गरिएको छ, यद्यपि दुवै पक्षले तोकेका शर्तहरू कार्यान्वयन कसरी हुन्छ भन्ने प्रश्न अझै बाँकी छ।












प्रतिक्रिया दिनुहोस्