काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै तत्काल हस्तक्षेप आवश्यक रहेको जनाएको हो ।
कांग्रेस प्रवक्ता देबराज घिमिरेद्वारा जारी विज्ञप्तिमा बैठकले मध्यपूर्वमा देखिएको संकटका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा परेको उल्लेख गरेको छ । पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढ्दा भान्सा खर्चदेखि व्यवसाय, रोजगारी, कृषि उत्पादन र पर्यटन क्षेत्रसम्म व्यापक प्रभाव परेको कांग्रेसको ठहर छ ।
कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै स्वतः बढेको मूल्य अभिवृद्धि कर ९भ्याट० मा सहुलियत दिई फिर्ता गर्ने व्यवस्था गर्न माग गरेको छ । यसले महँगीको मार केही हदसम्म कम गर्न सक्ने विश्वास व्यक्त गरिएको छ । साथै, पूर्वाधार विकास कर हालको सन्दर्भमा औचित्यहीन भइसकेकाले हटाउनुपर्ने कांग्रेसको धारणा छ ।
त्यसैगरी भन्सार, सडक मर्मत तथा सुधार दस्तुर, प्रदूषण नियन्त्रण शुल्क र हरित करलगायतका विभिन्न करहरू निश्चित अवधिका लागि घटाउने वा हटाउने व्यवस्था गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ । हालको कर संरचनाका कारण नेपाल आयल निगमले महँगोमा खरिद गरी सस्तोमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै यसलाई समाधान गर्न स्पष्ट कर सहुलियत नीति आवश्यक रहेको उल्लेख गरिएको छ ।
कांग्रेसले समग्र कर प्रणाली पुनरावलोकन गरी पेट्रोलियम पदार्थमा लाग्ने कर घटाउनुपर्नेमा जोड दिँदै विद्यार्थीहरूलाई बढ्दो यातायात खर्चबाट राहत दिन विशेष सहुलियत कार्यक्रम ल्याउन पनि सरकारलाई आग्रह गरेको छ ।













प्रतिक्रिया दिनुहोस्