काठमाडौं । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले बागमती प्रदेशमा समस्याग्रस्त सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरुले दिएको राजीनामा गत माघ ५ गतेदेखि लागू हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेशका सचिवको जिम्मेवारीमा हेरफेर गर्दै बागमती प्रदेशका सहकारी तथा गरीब निवारण मन्त्रालयको सचिवमा खुसीराम अधिकारीलाई तोक्ने निर्णय गरेको प्रवक्ता तामाङले बताए । उक्त बैठकले स्थानीय तहमा वित्तीय अनुदान रकम वितरण निर्देशिकालाई समेत स्वीकृत गरेको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरको बकैया गाउँपालिका– ५ का दामोदर खनाललाई नियुक्त गरेको छ ।
सोही बैठकबाट सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठ नियुक्त भएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।
बैठकले स्वास्थ्य सेवामा कार्यरत ११औँ तहका वरिष्ठ अधिकृत डा अर्जुन सापकोटाले दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त बैठकले बागमती प्रदेश विश्वविद्यालयको सदस्य पदमा डा प्रेमनारायण अर्याललाई नियुक्त गरेको छ । बैठकले प्रदेशमा निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन नीतिलाई स्वीकृत प्रदान गरेको छ ।
प्रवक्ता तामाङका अनुसार सोही बैठकले शैक्षिक छात्रवृत्ति निर्देशिका २०७२ लाई स्वीकृत प्रदान गर्नुका साथै नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शङ्ख बुद्धलामालाई नियुक्त गरेको छ ।
बैठकले त्रिभुवन पार्क व्यवस्थापन तथा सञ्चालनसम्बन्धी पहिलो संशोधन गठन आदेशलाई स्वीकृत गरेको छ । बैठकले प्रदेश प्रवद्र्धन पहिलो मस्यौदा ऐन २०८३ र प्रदेश राष्ट्रिय वन ऐन २०८३ लाई प्रदेशसभामा पेस गर्न स्वीकृत गरेको छ । बैठकले गरिबी निवारण नीति २०८२ लाई पनि स्वीकृत गरेको छ ।












प्रतिक्रिया दिनुहोस्