(१) खण्ड (क) पछि देहायको खण्ड (क१) थपिएको छ :-
“(क१) “इजाजतपत्र” भन्नाले दफा १६क. बमोजिम प्रदान गरिएको इजाजतपत्र सम्झनु पर्छ।”
(२) खण्ड (घ) को सट्टा देहायको खण्ड (घ) राखिएको छ :-
“(घ) “परिवार” भन्नाले सदस्यको देहायको नाताको व्यक्ति सम्झनु पर्छ :-
(१) पति, पत्नी, छोरा, छोरा बुहारी, छोरी, ज्वाईँ, धर्मपुत्र, धर्मपुत्र बुहारी, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफैँले पालन पोषण गर्नुपर्ने दाजु, भाउजू, भाइ, भाइ बुहारी, दिदी, बहिनी,
(२) पुरूष सदस्यको हकमा निजका बाजे, बज्यै, सासू, ससुरा तथा महिला सदस्यको हकमा निजको सासु, ससुरा, र
(३) दफा ८८ बमोजिम लगातार दुई वर्षसम्म कारोबार नगरी निष्क्रिय रहेको, यो ऐन र यस ऐनअन्तर्गत बनेको नियमावली विपरीत कार्य गरेको, लिक्वीडेशन वा खारेजीमा गएको र ऐनको दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएको सहकारी संस्थाको सदस्यको हकमा अंशवण्डा गरी, मानो छुट्टिई वा सम्बन्ध विच्छेद भई बसेको परिवारको सदस्य।
(३) खण्ड (घ) पछि देहायको खण्ड (घ१) थपिएको छ :-
(घ१) “नातेदार” भन्नाले काका, काकी, भतिजा, भतिजी, नाति, नातिनी, नातिनी बुहारी, मामा, माइजू, भिनाजु, ज्वाईँ, भान्जा, भान्जी, साला, साली, जेठान, जेठानी, फुपू, फुपाजु, नातिनी ज्वाईँ, भिन्न भएका सासु, ससुरा, दाजु, भाइ, भाउजू, भाइ बुहारी र निजका एकाघरका सदस्य सम्झनु पर्छ र सो शब्दले आफू सदस्य रहेको सहकारी संस्थामा काम गर्ने कर्मचारीलाई समेत जनाउँछ।”
(४) खण्ड (च) पछि देहायको खण्ड (च१) थपिएको छ :-
“(च१) बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था” भन्नाले सहकारी संस्थाको वासलातमा उल्लेख भएको कुल सम्पत्ति वा कुल दायित्व रकममा संस्थाद्वारा सङ्कलित कुल बचत रकम वा प्रवाह भएको कुल ऋण रकमको अनुपात पचास प्रतिशतभन्दा बढी रहेको सहकारी संस्था सम्झनु पर्छ र सो शब्दले कुनै सहकारी संस्थाको वासलातमा पच्चिस करोड रूपैयाँभन्दा बढी रकमको कुल बचत वा कुल ऋण लगानी रहेका सहकारी संस्थालाई समेत जनाउँछ।”
(५) खण्ड (ज) मा रहेका “कम्तीमा तीस प्रतिशत” भन्ने शब्दहरूको सट्टा “कम्तीमा पचास प्रतिशत” भन्ने शब्दहरू राखिएका छन्।
(६) खण्ड (झ) को सट्टा देहायको खण्ड (झ) राखिएको छ :-
“(झ) “रजिष्ट्रार” भन्नाले दफा ९२ बमोजिम तोकिएको रजिष्ट्रार सम्झनुपर्छ र सो शब्दले प्रदेश सरकार र स्थानीय तहको प्रचलित सहकारी सम्बन्धी कानूनले रजिष्ट्रार वा दर्ता अधिकारीको कार्य गर्नेगरी तोकिएको अधिकृत कर्मचारीलाई समेत जनाउँछ।”
(७) खण्ड (ठ) मा रहेको “सहकारी” भन्ने शब्द पछि “विषय हेर्ने” भन्ने शब्दहरू थपिएको छ।













प्रतिक्रिया दिनुहोस्