काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाअन्तर्गत रहेको आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्दौटाको रकम हिनामिना गर्ने बैंकका कर्मचारी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्पतालको ३८ लाख १९ हजार ७७० रुपैयाँ सरकारी रकम संगठित रूपमा ठगी र आपराधिक विश्वासघात गरी हिनामिना गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, अस्पतालको सेवा शुल्क र फार्मेसीबाट औषधि बिक्री गरी संकलन भएको रकम नेपाल बैंक लिमिटेडको चन्दौटा शाखामा जम्मा गर्नुपर्नेमा कर्मचारीहरूको मिलेमतोमा नक्कली बैंक भौचर बनाएर रकम हिनामिना गरिएको पाइएको छ ।
पक्राउ पर्नेहरूमा शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित पाण्डेय, अस्पतालकी फार्मेसी सहायक रुक्सना खातुनका साथै नेपाल बैंक लिमिटेड चन्दौटा शाखाका क्यासियर कमल प्रसाद भण्डारी र नेपाल बैंक लिमिटेडका कार्यालय सहयोगी विक्रम केसी रहेका छन् ।
पक्राउ परेका पाँचै जनालाई कपिलवस्तु जिल्ला अदालतबाट ठगी तथा आपराधिक विश्वासघात कसुर मुद्दामा ७ दिनको म्याद थप गरी हिरासतमा राखेर विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।













प्रतिक्रिया दिनुहोस्