काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले २१ करोड १५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ।
कम्पनीको नाफा गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा ५.६३ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २० करोड २ लाख ८८ हजार रुपैयाँमात्र नाफा कमाउन सफल भएको थियो ।
यसैगरी, तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन गत वर्षको तुलनामा ५.७८ प्रतिशतले वृद्धि भएर ५० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।
चैत मसान्तसम्म आउँदा कम्पनीका प्रतिसेयर १६ रुपैयाँ ५८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ५५ पैसा रहेको छ।
कम्पनीको चुक्ता पुँजी गत वर्षको तुलनामा १८ प्रतिशतले वृद्धि भएर १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब ४४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्