काठमाडौं । बैंकिङ क्षेत्र कुनै पनि अर्थव्यवस्थाको आधारस्तम्भ हो । नेपालजस्तो विकासशील देशमा आर्थिक तथा सामाजिक रूपान्तरणको लागि बैंकिङ क्षेत्रको भूमिका अत्यन्तै महत्त्वपूर्ण थियो, छ र रहने छ । बैंकिङ क्षेत्रले मात्र वित्तीय मध्यस्थकर्ताको रूपमा काम गर्दैन, यसले समग्र समाजको रूपान्तरणमा समेत उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
बैंकिङ क्षेत्र अत्यन्त संवेदनशील क्षेत्र हो । यससँग सम्बन्धित समाचार, सूचना तथा विशेषणले जनविश्वास, निक्षेपकर्ताको मनोविज्ञान र समग्र वित्तीय स्थिरतामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले बैंकिङ सम्बद्ध समाचारलाई तथ्य, प्रमाण र उचित प्रमाणीकरणका आधारमा प्रस्तुत गरिनेछ भन्ने विश्वास छ ।
नेपालको बैंकिङ क्षेत्र अहिले निकै संवेदनशील र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । एकातर्फ, बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ, ब्याजदर घटेको छ, बैंकहरू लगानी गर्न तयार छन् तर अर्कोतर्फ, कर्जा विस्तार अपेक्षित रूपमा बढ्न सकेको छैन । यसले एउटा गम्भीर प्रश्न उठाएको छ कि समस्या तरलता को हो कि आत्मविश्वास को?
हाम्रो बुझाइमा अहिले नेपालको अर्थतन्त्रमा तरलताको संकटभन्दा बढी आत्मविश्वासको संकटबाट प्रभावित छ। लगानी विस्तारका लागि निजी क्षेत्रमा उत्साह देखिँदैन । पर्ख र हेरको अवस्थामा रहेको समग्र निजी क्षेत्र अझै पनि मौन रहेको सोझै बुझ्न सकिन्छ । केही समयदेखि उद्योग–व्यावसायिक क्षेत्रमा कर्जाको माग कमजोर छ। सरकारी पुँजीगत खर्च अपेक्षित रूपमा हुन सकेको छैन । आर्थिक गतिविधिमा सुस्तता देखिएको छ। यसको प्रत्यक्ष प्रभाव बैंकिङ क्षेत्रमा परेको छ ।
हालै एक जना सीईओको गिरफ्तारीको घटनाले सम्पूर्ण बैंकिङ क्षेत्रलाई गम्भीर रूपमा चिन्तित बनाएको छ। बैंकले ऋण दिएपछि ऋणको असुलिला ऋणीले बैंकलाई सुरक्षणबापत दिएको सम्पत्तिमा पहिलो अधिकार हुन्छ भन्ने त बाफिया, सुरक्षित कारोबार ऐनले प्रस्ट व्यवस्था गरेको विषय नै हो । हामी हरेक विषयमा अनुसन्धान प्रक्रिया स्वतन्त्र रूपमा अघि बढ्नुपर्छ भन्नेमा विश्वास राख्छौ र यसमा हाम्रो कुनै आपत्ति छैन । तर प्रोफेसनल जज्मेन्ट र खराब नियत बिचको सीमा स्पष्ट हुन आवश्यक छ ।
यदि असल नियतले गरिएको निस्वार्थ पेशागत निर्णयलाई पनि पछि गएर व्यक्तिगत आपराधिक दृष्टिकोणबाट हेर्ने वातावरण बन्यो भने बैंकिङ क्षेत्रमा अत्यन्तै अन्योलको वातावरण सिर्जना हुन् सक्नेप्रति गम्भीर हुनु जरुरी छ । त्यसको प्रत्यक्ष असर क्रेडिट प्रवाह लगानी विश्वास सहित अन्ततः समग्र अर्थतन्त्रमा पर्न सक्छ। हामी जबाफदेहिताको विरोधमा होइनौ । तर जवाफदेहितासँगसँगै संस्थागत विश्वास पनि बराबर महत्त्वपूर्ण हुन्छ भन्ने हाम्रो धारणा हो । बैंकिङ एउटा स्वाभाविक रूपमा जोखिममा आधारित व्यवसाय हो। प्रवाह गरिएका हरेक कर्जा असल र सफल हुँदैनन् न त हरेक व्यवसायको बहार सधैँ उस्तै रहने गर्छ, यो शाश्वत सत्य हो । यस अर्थमा कर्जा र व्यावसायिक चक्रमा देखिने असफलता तथा आर्थिक सुस्तताको सम्पूर्ण दोष केवल बैंकहरूलाई दिनु न्यायोचित हुँदैन ।
आजको कार्यक्रमको उद्देश्य केवल बैंकहरूको पक्ष राख्छु मात्र होइन । हामी खुला। तथ्यमा आधारित र रचनात्मक संवाद चाहन्छौँ । आर्थिक पत्रकारिताले नीतिगत प्रवचन निर्माणमा अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यहाँहरूको फ्रा, आलोचना, विश्लेषण र सुझावले नीति बहसलाई अझ परिपक्व बनाउने विश्वास हामीले गरेका छौँ। आज नेपाललाई सबैभन्दा बढी आवश्यक कुरा भनेको आत्मविश्वास पुनर्स्थापना हो । आत्मविश्वास, लगानी आत्मविश्वास, र नीतिगत आत्मविश्वास, भविष्यको आत्मविश्वास ।
सिबिफिनका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको बिचार
प्रतिक्रिया दिनुहोस्