Skip to content

बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी मानसिक दबाबमा, सुरक्षित काम गर्ने वातावरण बनाउन माग

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले ग्लोबल आइएमई बैंक विराटनगरमा कार्यरत कर्मचारी पिताम्बर खड्काको निधनप्रति दु:ख व्यक्त गरेको छ । संघले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो कार्यचाप, अवास्तविक लक्ष्यको दबाब, सीमित जनशक्तिबाट अत्यधिक काम गराउने प्रवृत्ति र कर्मचारीको मानसिक अवस्थाप्रति पर्याप्त संवेदनशीलता नदेखाएको विषयले गम्भीर चिन्ता उत्पन्न गरेको जनाएको छ ।

संघका अनुसार निरन्तर तनावपूर्ण वातावरणमा काम गर्नुपर्ने अवस्थाले कर्मचारीहरूको मानसिक स्वास्थ्य, पारिवारिक जीवन तथा पेशागत आत्मविश्वासमा नकारात्मक असर पारिरहेको संघले जनाएको छ । कर्मचारीको जीवन, सम्मान र मानसिक सुरक्षाभन्दा कुनै पनि संस्थाको व्यावसायिक उपलब्धि ठूलो हुन नसक्ने संघको धारणा छ ।

विज्ञप्तिमा श्रम ऐन र नेपालको संविधानले सुनिश्चित गरेको सुरक्षित तथा मर्यादित कार्य वातावरण प्रत्येक श्रमिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै कर्मचारीमाथि हुने अनावश्यक दबाब, मानसिक उत्पीडन तथा अस्वस्थ कार्यसंस्कृतिलाई समयमै नियन्त्रण गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताइएको छ।

संघले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न माग गरेको छ। घटनासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानसिक दबाब, दुर्व्यवहार वा गैरजिम्मेवार कार्यशैली जोडिएको पाइए कानुनअनुसार आवश्यक कारबाही गर्नुपर्ने संघको भनाइ छ।

बैंक तथा वित्तीय क्षेत्रमा स्वस्थ कार्यसंस्कृति निर्माण, उचित कार्यसमयको सुनिश्चितता, अतिरिक्त कामको व्यवस्थित व्यवस्थापन, पर्याप्त जनशक्ति तथा कर्मचारीको मानसिक स्वास्थ्य संरक्षणका लागि प्रभावकारी नीति अवलम्बन गर्न संघले सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

संघले मानवीय संवेदना, श्रम सम्मान र सुरक्षित कार्य वातावरणबिना वित्तीय क्षेत्र दिगो तथा विश्वसनीय बन्न नसक्ने भन्दै सं सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T