काठमाडौं । काठमाडौं । नेपाल लेखामान बोर्डद्वारा जारी भई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू भएको एनएफआरएस १७ (इन्स्योरेन्स कन्ट्र्याक्ट्स) कार्यान्वयनलाई प्रभावकारी, व्यवस्थित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गर्नका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रणनीतिक पहल गरेको छ।
यसै सन्दर्भमा नेपाल बीमा प्राधिकरणको आवश्यक स्वीकृति पश्चात् कम्पनीले विश्वव्यापी रूपमा प्रतिष्ठित परामर्शदाता संस्था केपीएमजी एस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज एलएलपीलाई एनएफआरएस १७ कार्यान्वयन परामर्शदाता (इम्प्लिमेन्टेसन पार्टनर) का रूपमा नियुक्त गरेको हो।
केपीएमजी विश्वका प्रमुख “बिग फोर” व्यावसायिक सेवा प्रदायक संस्थामध्ये एक हो जसले एस्योरेन्स, कन्सल्टिङ, ट्याक्स तथा रिस्क एड्भाइजरी सेवामा उच्चस्तरीय विशेषज्ञता प्रदान गर्दै आएको छ। यसको बलियो अन्तर्राष्ट्रिय सञ्जाल, अनुभवी पेशागत जनशक्ति, उच्च नैतिक मानक तथा नवीनतम अन्तर्राष्ट्रिय अभ्यासमा आधारित कार्यशैलीका कारण केपीएमजी विश्वभरका बैंक, बीमा कम्पनी तथा ठूला संस्थाहरूका लागि एक विश्वसनीय र स्थापित साझेदारको रूपमा पहिचान बनाएको छ।
विशेषगरी आईएफआरएस १७ रएनएफआरएस १७ जस्ता जटिल वित्तीय प्रतिवेदन मापदण्डहरूको कार्यान्वयनमा केपीएमजीको अन्तर्राष्ट्रिय अनुभव तथा प्राविधिक दक्षता अत्यन्त महत्त्वपूर्ण मानिन्छ। दक्षिण एशिया क्षेत्र, विशेषगरी भारतमा यसको सशक्त उपस्थिति तथा स्थानीय बजारको गहिरो समझदारीले नेपालजस्ता विकासोन्मुख बजारमा समेत यसको परामर्श सेवाप्रति उच्च विश्वास र स्वीकार्यता स्थापित भएको छ।
यस नियुक्तिसँगै सिटिजन लाइफ इन्स्योरेन्सले एनएफआरएस १७ कार्यान्वयनमा अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञता प्राप्त गर्नुका साथै नलेज ट्रान्सफरमार्फत आन्तरिक क्षमता अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछ।
सम्झौता अवधि साढे तीन (३.५) वर्ष रहनेछ जसअन्तर्गत प्रारम्भिक कार्यान्वयन चरण तथा त्यसपछि तीन वर्षसम्म पोस्ट–इम्प्लिमेन्टेसन सपोर्ट सेवा समेत समावेश हुनेछ। यसले प्रणालीको दीर्घकालीन स्थायित्व, निरन्तर प्राविधिक सहयोग तथा संस्थागत दक्षताको दिगो विकास सुनिश्चित गर्ने कम्पनीले विश्वास लिएको छ।
प्रतिक्रिया दिनुहोस्