Skip to content

डब्लुएचओले ल्यायाे इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलरकाे योजना

nabil bank

काठमाडौं । कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा फैलिएको इबोला प्रकोप नियन्त्रण र तयारी क्षमता बलियो बनाउन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ५१ करोड ८० लाख अमेरिकी डलरको व्यापक क्षेत्रीय योजना सार्वजनिक गरेको छ । योजना २०२६ जुनदेखि नोभेम्बरसम्म लागू हुने गरी तयार गरिएको हो ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले इबोला नियन्त्रण केवल चिकित्सा प्रतिक्रिया मात्र नभई राजनीतिक प्रतिबद्धता, दीगो वित्तपोषण र समुदायको सक्रिय सहभागितामा निर्भर रहने स्पष्ट पारेका छन् । उनले अनुसार अफ्रिका सीडीसी र डब्लुएचओले साझेदार संस्थाहरूसँग मिलेर तयार पारेको यो योजना महामारी रोकथाम, शीघ्र पहिचान र उपचार क्षमतामा केन्द्रित छ ।

उनले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको सन्देशमा इबोला नियन्त्रणका लागि स्थानीय समुदायसँग विश्वास निर्माण, अग्रपङ्क्तिका स्वास्थ्यकर्मीको परिचालन र सङ्क्रमण रोकथामका उपायहरूलाई सुदृढ पार्नुपर्ने आवश्यकता औँल्याए । साथै, सङ्क्रमित व्यक्तिलाई समयमै उपचारमा ल्याउन सके मृत्युदर घटाउन सकिने उनले उल्लेख गरे।

टेड्रोसले डीआरसीका राष्ट्रपति फेलिक्स त्सेसेकेडीसँग हालै बुन्डिबुग्यो क्षेत्रमा देखिएको इबोला प्रकोपबारे विस्तृत छलफल भएको जानकारी पनि दिए। उक्त छलफलमा उपचार सेवा विस्तार, निदान क्षमता वृद्धि र स्वास्थ्य संरचनाको सुधारबारे प्रगति समीक्षा गरिएको थियो । उनका अनुसार केही बिरामी पहिले नै उपचारपछि निको भएर घर फर्किएका छन् । यसले प्रारम्भिक उपचार प्रभावकारी हुने सङ्केत दिएको छ । उनले महामारी नियन्त्रणसँगै अन्य स्वास्थ्य तथा मानवीय सेवाहरूलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।

डब्लुएचओ प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई समन्वित सहयोग गर्न आग्रह गर्दै यात्रा वा व्यापारमा अनावश्यक प्रतिबन्धले राहत तथा उपचार प्रयासमा बाधा पु¥याउन सक्ने चेतावनी पनि दिए । इबोला एक गम्भीर भाइरल रक्तस्रावी ज्वरो हो । यो विशेषगरी बुन्डिबुग्यो स्ट्रेनबाट फैलिन सक्छ र उच्च मृत्युदरका कारण जोखिमपूर्ण मानिन्छ । हालसम्म यस स्ट्रेनविरुद्ध पूर्ण रूपमा स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi