काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लप्सीफेदी सबस्टेशन आगामी तीन महिनाभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।
आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक जुजुरत्न शाक्य, निर्देशक श्रीराम पोखरेल सहितको टोलीसहित लप्सीफेदी ४००/२२०/१३२ केभी सबस्टेशन तथा १३२/११ केभी चाँगुनारायण सबस्टेशनको स्थलगत निरीक्षण भ्रमणका क्रममा उनले यस्तो निर्देशन दिए ।
लप्सीफेदी सबस्टेशन सञ्चालनसँगै काठमाडौं उपत्यकाको विद्युत आपूर्ति प्रणाली थप व्यवस्थित र भरपर्दो हुने भन्दै उनले आवश्यक जनशक्ति, उपकरण तथा स्रोत–साधन परिचालन गरी निर्माण कार्यलाई तीव्रता निर्देशन दिए । ‘हालै सार्वजनिक भएको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ले देशभित्र विद्युत खपत विस्तार, उद्योगीकरण, विद्युतीय यातायात र स्वच्छ ऊर्जाको प्रयोग वृद्धि गर्ने लक्ष्य लिएको छ,’ उनले भने, ‘यो सन्दर्भमा यस्ता उच्च क्षमताका सबस्टेशन तथा प्रसारण संरचनाहरूलाई समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता छ ।’
निरीक्षणका क्रममा उनले दुवै सबस्टेशनको निर्माण प्रगति, प्राविधिक अवस्था तथा सञ्चालन तयारीबारे जानकारी दिएको थियो । उनले निरीक्षणका क्रममा सम्बन्धित अधिकारी तथा निर्माण व्यवसायीसँग पनि छलफल गरे ।
लप्सीफेदी सबस्टेशनलाई खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० केभी लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीको प्रमुख हबका रूपमा विकास गर्ने र जसबाट माथिल्लो तामाकोशी तथा भोटेकोशी करिडोरका विद्युतलाई काठमाडौं उपत्यकाका लोड सेन्टरहरूमा प्रभावकारी रूपमा आपूर्ति गर्ने प्राधिकरणको भनाई छ ।
साथै एमसीए–नेपाल अन्तर्गतको लप्सीफेदी–रातमाटे ४०० केभी लाइनसँग समेत जोडिने भएकाले यो सबस्टेशन राष्ट्रिय तथा क्षेत्रीय प्रसारण सञ्जालको महत्वपूर्ण ४०० केभी हबका रूपमा विकसित हुने पनि प्राधिकरणको भनाई छ । उनले चाँगुनारायण १३२/११ केभी सबस्टेशनको निर्माण कार्यलाई पनि प्राथमिकता दिई कार्य गर्न निर्देशन दिए ।












प्रतिक्रिया दिनुहोस्