काठमाडौं । सूचना तथा प्रसारण विभागले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पूर्वप्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिसहित ७ सञ्चार संस्थालाई सात दिनभित्र इजाजतपत्र तथा अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिएको छ।
विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय प्रसारण नियमावली, २०५२ बमोजिम निर्धारित समयभित्र इजाजतपत्र नवीकरण नगरेका संस्थाहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र विभागमा सम्पर्क गरी नियमानुसार नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको हो।
नियमावलीको नियम १६ अनुसार प्रसारण संस्थाको इजाजतपत्र तथा अनुमतिपत्रको अवधि एक आर्थिक वर्षको हुने व्यवस्था छ। उक्त अवधिभित्र नवीकरण नगरिएमा क्रमशः जरिवाना तिरेर अधिकतम ६ महिनासम्म नवीकरण गर्न सकिने भए पनि त्यस अवधिसम्म पनि नवीकरण नभए इजाजतपत्र स्वतः रद्द हुने कानुनी व्यवस्था रहेको विभागले जनाएको छ।
विभागका अनुसार महालेखा परीक्षकको कार्यालयको निर्देशनपछि गरिएको परीक्षणमा केही प्रसारण संस्थाले इजाजतपत्र स्वतः रद्द भइसकेको अवस्थामा समेत प्रसारण कार्य सञ्चालन गरी आम्दानी गरेको देखिएको छ। ती संस्थालाई यसअघि नै प्रसारण तथा वितरण शुल्क र जरिवाना रकम बुझाउन पत्राचार गरिएको भए पनि हालसम्म रकम दाखिला नभएको विभागको भनाइ छ।
सूचनामा उल्लेख गरिएका संस्थाहरूमा गोर्खा मिडिया नेटवर्क प्रालि, उपकार मिडिया ग्रुप प्रालि, बलभद्र मिडिया प्रालि, अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रालि, सयपत्री मिडिया प्रालि, सोसाइटल मिडिया प्रालि तथा टिम टेलिभिजन प्रालि रहेका छन्।
प्रतिक्रिया दिनुहोस्