काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थासम्बन्धी एकीकृत निर्देशन, २०८२ मा संशोधन गरेको छ । राष्ट्र बैंकले थोक कर्जा प्रदायक लघुवित्त र खुद्रा कारोबार गर्ने लघुवित्त संस्थाबीचको गाभ्ने–गाभिने तथा प्राप्ति प्रक्रियासम्बन्धी व्यवस्था परिमार्जन गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार निर्देशन नम्बर १७÷०८२ को बुँदा नम्बर ४ को खण्ड (ङ) को उपबुँदा (५) संशोधन गरिएको हो।
संशोधित व्यवस्थाअनुसार थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने वा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो संस्थाले खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको रूपमा मात्र कार्य गर्नुपर्ने व्यवस्था गरिएको छ।
यद्यपि, गाभ्ने–गाभिने वा प्राप्ति प्रक्रियापछि एकीकृत कारोबार सञ्चालन गरेको मितिदेखि पाँच वर्षसम्म थोक कर्जाको कारोबार गर्न भने छुट दिइएको राष्ट्र बैंकले जनाएको छ।
यसअघि कायम व्यवस्थामा त्यस्ता संस्थाले खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको रूपमा कार्य गर्न सक्ने उल्लेख भए पनि थोक कर्जा प्रदायक संस्थाले गाभ्नुभन्दा अघि प्रवाह गरेका कर्जाको असुली साविककै भुक्तानी तालिकाअनुसार गर्न सक्ने व्यवस्था थियो।









प्रतिक्रिया दिनुहोस्