काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ। सङ्घीय सरकारले बाँदर नियन्त्रणसम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले सङ्घीय सरकारसँगको समन्वयमा यहाँका बाँदरलाई बन्ध्याकरण गर्न लागेको हो ।
गाउँपालिकाको मङ्गलबारदेखि सुरु भएको गाउँसभाको १९औँ अधिवेसनमार्फत आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिए ।
“बाँदर किसानको जटिल समस्या बनेको छ”, अध्यक्ष राईले भने “बाँदर नियन्त्रणका लागि बन्ध्याकरणको कार्यक्रम सञ्चालनको तयारी गरेको छौँ । सङ्घीय सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने हाम्रो लक्ष्य छ ।”
गाउँपालिकाका अनुसार, बन्ध्याकरण विधिमार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी दीर्घकालीन समाधान खोज्ने लक्ष्य राखिएको छ । यसका लागि प्राविधिक जनशक्ति परिचालन, आवश्यक उपकरण व्यवस्थापन तथा सम्बन्धित निकायसँग सहकार्य गरिनेछ । यसले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।
बालीबिरुवामा बाँदरले अपूरणीय क्षति गर्न थालेपछि यहाँ बाँदरको सङ्ख्या नियन्त्रण गर्ने उद्देश्यले बाँदरको बन्ध्याकरण गर्न लागिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए ।
पछिल्लो समय गाउँपालिकाका विभिन्न वडामा बाँदरको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ । बाँदरले विशेषगरी मकै, कोदो, आलुलगायत बालीमा क्षति पु¥याउँदै आएका छन् । जसका लागि पहिलो चरणमा खोज तथा अध्ययन गर्न गाउँपालिकाले रु पाँच लाख बजेटसमेत विनियोजन गरेको छ ।









प्रतिक्रिया दिनुहोस्