काठमाडौं । कामना सेवा विकास बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)बाट ‘नेशनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०२५’ अन्तर्गत वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्डबाट सम्मानित भएको छ ।
बैंकले लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ । बैंकले बीपीए अवार्ड २०२३ मा सिल्भर अवार्ड, बीपीए अवार्ड २०२४ मा गोल्ड अवार्ड र २०२५ मा पुनः गोल्ड अवार्डबाट सम्मानित भएको हो ।
बैंकको वित्तीय विवरण लगातार रूपमा दक्षिण एसियामै विशिष्ट मानिने साफा अवार्डबाट समेत लगातार सम्मानित हुँदै आएको छ । यससँगै बैंकले वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय वित्तीय प्रतिवेदन प्रस्तुतिमा निरन्तर उत्कृष्टता कायम राख्दै आएको पुष्टि गरेको छ ।
उक्त अवार्ड बैंकले आफ्नो वार्षिक प्रतिवेदनमार्फत वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतीकरणलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरेको मूल्याङ्कनका आधारमा प्रदान गरिएको हो । बीपीए अवार्डले संस्थाहरूको वार्षिक प्रतिवेदनको गुणस्तर, वित्तीय पारदर्शिता तथा उत्कृष्ट प्रस्तुतीकरणलाई प्रोत्साहन गर्ने उद्देश्य राख्दछ ।
काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहमा आईक्यानका अध्यक्ष निल बहादुर सारूले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई उक्त अवार्ड प्रदान गरेका हुन । बैंकको उत्कृष्ट प्रतिवेदन प्रस्तुति तथा वित्तीय पारदर्शिताप्रतिको प्रतिबद्धताको कदरस्वरूप प्रदान गरिएको यस सम्मानले बैंकको संस्थागत सुशासन तथा उत्तरदायी वित्तीय अभ्यासलाई थप पुष्टि गरेको छ ।
यस सम्मानले बैंकको वित्तीय विवरण तथा वार्षिक प्रतिवेदनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुरूप थप प्रभावकारी, विश्वसनीय र पारदर्शी बनाउने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बैंकले जनाएको छ । बैंकले आगामी दिनमा पनि सरोकारवालाहरूलाई समयानुकूल, यथार्थपरक तथा गुणस्तरीय वित्तीय सूचना उपलब्ध गराउँदै उत्कृष्ट संस्थागत अभ्यासलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्