Skip to content

साउनदेखि नेपाल टेलिकमको सिमकार्ड ‘होम डेलिभरी’

काठमाडौं । नेपाल टेलिकमको सिमकार्ड अब ग्राहकहरूले घरमै पाउने भएका छन्। टेलिकमले उपलब्ध गराउने सिमकार्डलगायत अन्य कागजात, चिठीपत्र, दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्सलगायतका सामग्री हुलाक सेवामार्फत ढुवानी हुने भएको हो।

अब टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीको सिमकार्डलगायतका अन्य सामग्री घरैसम्म हुलाकमार्फत पाउनेछन्। जसका लागि टेलिकम र हुलाक सेवा विभागबीच बिहीबार सम्झौता भएको छ।

सम्झौताअनुसार आगामी साउन १ देखि हुलाक सेवा विभागमार्फत टेलिकमका सिमकार्डलगायत अन्य सामग्री ढुवानी गरिनेछ। सम्झौता पत्रमा टेलिकमको तर्फबाट निमित्त प्रबन्धनिर्देशक रीना डंगोल र हुलाक सेवा विभागको तर्फबाट महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन्।

निमित्त प्रबन्ध निर्देशक डंगोलले टेलिकमले सेवाग्राहीलाई कम्पनीको कार्यालयमा उपस्थित नभएरै पनि विभिन्न सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइरहेको र त्यसतर्फको यो अर्को महत्वपूर्ण कदम भएको बताएकी छन्।

उनले टेलिकम र हुलाक सेवा विभागबीचको यो सहकार्यबाट कम्पनीका सेवाग्राहीहरु लाभान्वित हुने विश्वास व्यक्त गरिन्। हुलाक सेवा विभागका महानिर्देशक पंगेनीले जनताको घरदैलोमा सेवा पुर्‍याउने सरकारी लक्ष्यलाई व्यवहारमा लागु गर्नका लागि विभागले विभिन्न कार्य गरिरहेको बताउँदै त्यसतर्फको यो अर्को कदम भएको बताइन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T