काठमाडौं । जापानस्थित नेपाली समुदायबिच एकता, सद्भाव तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले युनाइटेड फुटबल नेपाल (यूएफएन)को आयोजनामा सातौँ एसबीआई रेमिट यूएफएन रनिङ कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
इबाराकी प्रिफेक्चरको तामादोस्थित सालोम स्पोर्ट्स सेन्टरमा आयोजित प्रतियोगितामा ४० टोलीको सहभागिता रहेको थियो। तीमध्ये ८ वटा भेट्रान तथा ३२ वटा खुला समूहका टोली सहभागी भएका थिए। जापानका विभिन्न क्षेत्रबाट आएका खेलाडी तथा दर्शकहरूको उल्लेखनीय सहभागिताले प्रतियोगितालाई थप उत्साहपूर्ण बनाएको थियो।
खुला समूहतर्फ ओइजुमी एफसीले उपाधि जित्दा मर्करी एफसी उपविजेता बनेको छ। प्रतियोगितामा कुल १० लाख २० हजार येन बराबरको नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक एसबीआई रेमिटले जापानमा बसोबास गर्ने विदेशी नागरिकलाई अन्तर्राष्ट्रिय रेमिटेन्स तथा विभिन्न वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले नेपाली समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।
कार्यक्रममा बोल्दै एसबीआई रेमिटका दक्षिण एसिया क्षेत्र प्रमुख तीर्थ कार्कीले खेलकुदमार्फत जापानभर रहेका नेपाली समुदायलाई एउटै साझा मञ्चमा जोड्ने अभियानमा सहकार्य गर्न पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए। उनले एसबीआई रेमिटले रेमिटेन्स सेवा प्रदान गर्नुका साथै नेपाली समुदायको सामाजिक तथा आर्थिक विकासमा समेत निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
प्रतियोगिताको अवलोकन गर्न एसबीआई रेमिटका बिक्री विभाग प्रमुख कोनो योशियुकी तथा कम्पनीका अध्यक्ष आन्दो नोबुओ उपस्थित थिए। उनीहरूले जापानस्थित नेपाली समुदायको उत्साह, अनुशासन र खेलप्रतिको समर्पणको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समुदायबिचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
यूएफएनका अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले प्रतियोगिता सफल बनाउन योगदान गर्ने सम्पूर्ण खेलाडी, स्वयंसेवक, समर्थक तथा प्रायोजकप्रति आभार व्यक्त गर्दै खेलकुदले समुदायलाई एकताबद्ध गर्ने सशक्त माध्यम भएको बताए।
प्रतियोगितामा एभरेस्ट इन्टरनेशनल (तोचिगी) तथा एनआरएनए तोचिगीले पनि सहकार्य तथा सहयोग गरेका थिए। यसैबीच, एसबीआई रेमिटले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तथा विजेता टोलीका खेलाडीसहित १० जना खेलाडीलाई आगामी अगस्ट महिनामा आयोजना हुने मिनी एसिया सकर प्रतियोगितामा प्रायोजन गरी सहभागी गराउने घोषणा गरेको छ। यसबाट जापानमा रहेका नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ।
नेपाल–जापान फुटबल संघका महासचिव मनोज श्रेष्ठले एसबीआई रेमिटको सामुदायिक तथा खेलकुद प्रवर्द्धनमा रहेको सक्रिय भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले जापानस्थित नेपाली समुदायबिचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
एसबीआई रेमिटले आगामी दिनमा पनि जापानस्थित नेपाली समुदायको उत्थान, एकता तथा सामाजिक विकासका लागि खेलकुद, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा निरन्तर सहयोग र सहभागिता जनाउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्