काठमाडौं । भारतको चर्चित सिन्धिया राजपरिवारबीच झण्डै चार दशकदेखि चल्दै आएको ४० हजार करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति विवाद अन्तिम समाधानतर्फ बढेको छ । ग्वालियर जिल्ला अदालतमा विवाद समाधानका लागि भएको पारिवारिक समझदारीलाई कानुनी मान्यता दिने प्रक्रिया अघि बढे पनि आवश्यक अभिलेख पेश नभएका कारण सुनुवाइ केही समयका लागि स्थगित भएको छ।
भारतका केन्द्रीय सञ्चार तथा उत्तरपूर्वी क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया र उनका तीन फुपूहरूबीच भएको सहमतिले लामो समयदेखिच र्चामा रहेको सम्पत्ति विवाद अन्त्य हुने अपेक्षा गरिएको छ। हाल उनी मोदी सरकारमा मन्त्रीका रूपमा कार्यरत छन्। उनी सन् २०२० सम्म भारतीयराष्ट्रिय कांग्रेसमा रहे पनि पछि भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका थिए।
यो विवाद नेपालको राजनीतिसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ। ज्योतिरादित्य सिन्धियाकी फुपू ऊषा राजे राणा को विवाह राप्रपाका वरिष्ठनेता पशुपति शमशेर जंगबहादुर राणा सँग भएको हो। विवाद समाधानपछि ऊषा राजेको हिस्सामा आउने सम्पत्तिले पशुपति शमशेर राणापरिवारको सम्पत्तिमा करिब १ खर्ब नेपाली रुपैयाँ बराबरको वृद्धि हुन सक्ने अनुमान गरिएको छ। यद्यपि प्राप्त हुने वास्तविक हिस्सा सार्वजनिक भइसकेको छैन।
सिन्धिया परिवारको विवाद सम्पत्तिको विषय मात्र नभएर यसमा दशकौं पुरानो राजनीतिक मतभेद पनि जोडिएको थियो ।
स्वर्गीय माधवराव सिन्धिया आफ्नी आमा राजमाता विजयाराजे सिन्धिया को राजनीतिक लाइनभन्दा फरक बाटोमा हिँडेका थिए। राजमाताविजयाराजे भारतीय जनता पार्टीको वैचारिक धारमा सक्रिय रहँदा माधवराव कांग्रेसमा प्रवेश गरेका थिए। त्यसपछि आमा–छोराबीच राजनीतिकतथा पारिवारिक दूरी बढ्दै गएको भारतीय राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ। यही मतभेदले पछि पैतृक सम्पत्तिको विवादलाई पनि थपजटिल बनाएको मानिन्छ।
माधवराव सिन्धियाको निधनपछि उनका छोरा ज्योतिरादित्य सिन्धियाले पैतृक सम्पत्तिमा दाबी गरे। त्यसपछि उनकी तीन फुपूहरू— वसुन्धराराजे, यशोधरा राजे सिन्धिया र ऊषा राजे राणाले पनि समान अधिकार माग गर्दै अदालत पुगेका थिए।
राजनीतिक रूपमा पनि यो परिवार निकै प्रभावशाली मानिन्छ। वसुन्धरा राजे राजस्थान राज्यकी पूर्व मुख्यमन्त्री हुन् भने यशोधरा राजे मध्यप्रदेश सरकारकी पूर्व मन्त्री तथा भाजपा नेतृ हुन्।
भारतका चर्चित सम्पत्ति विवादमध्ये एक
सन् १९८८–८९ तिर सुरु भएको यो विवाद भारतकै सबैभन्दा ठूलो पारिवारिक सम्पत्ति विवादमध्ये एक मानिन्छ।
विवादित सम्पत्तिमा ग्वालियरस्थित ऐतिहासिक जयविलास दरबार, शिवपुरीका विभिन्न दरबार, दिल्लीको ग्वालियर हाउस, उज्जैनको कालियादेह दरबार, पुणेको पद्म विलास दरबार, वाराणसीस्थित सिन्धिया घाट, गोवाका धार्मिक सम्पत्ति तथा विभिन्न कम्पनीहरूमा रहेको स्वामित्व समावेश रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
परिवार निकट स्रोतहरूका अनुसार सबैभन्दा महत्वपूर्ण विषय जयविलास दरबारको स्वामित्व हो। उक्त दरबार ज्योतिरादित्य सिन्धियाले आफ्नो नियन्त्रणमा राख्न चाहेको र त्यसको सट्टामा अन्य सम्पत्तिको पुनःवितरणमा सहमति बनेको चर्चा भारतीय सञ्चारमाध्यममा भइरहेको छ। यद्यपि समझदारीका विस्तृत सर्त सार्वजनिक गरिएका छैनन्।
सिन्धिया परिवार र नेपालको राणा परिवारबीचको सम्बन्ध पुरानो छ। ऊषा राजेको विवाह पशुपति शमशेर राणासँग भएको थियो। पशुपतिशमशेर नेपालका पूर्व उपप्रधानमन्त्री तथा राप्रपाका वरिष्ठ नेताका रूपमा परिचित छन्।
उनीहरूका दुई छोरी छन्— देवयानी राज्यलक्ष्मी राणा र उर्वशी राज्यलक्ष्मी राणा।
देवयानी राणा एक समय नेपालका तत्कालीन युवराज दीपेन्द्रसँग विवाहको चर्चाका कारण दक्षिण एसियाभर चर्चामा आएकी थिइन्। पछिउनको विवाह भारतको पूर्व राजपरिवारसँग सम्बन्धित ऐश्वर्य सिंहसँग भएको थियो। उर्वशी राज्यलक्ष्मी राणाको विवाह भारतीय उद्योगपति शिवखेमकासँग भएको छ।
राजमाता विजया राजे सिन्धिया खड्क शमशेर राणाको छोरी तर्फबाट नातिनी हुन् । माधवराव सिन्धियाको विवाह पनि नेपालमा नै राणा परिवारमा भएका थियो ।
हाल ग्वालियर अदालतमा भएको पारिवारिक समझदारीलाई कानुनी मान्यता दिने प्रक्रिया चलिरहेको छ। तर सम्पूर्ण अभिलेख अदालतमा पेशनभएकाले अन्तिम निर्णय केही समयका लागि रोकिएको छ।
सम्पत्ति बाँडफाँट सम्बन्धी सहमतिले कानुनी मान्यता पाएपछि झण्डै ४० वर्षदेखि चल्दै आएको विवादको औपचारिक अन्त्य हुनेछ। त्यससँगै भारतको प्रभावशाली सिन्धिया राजपरिवार र नेपालको राणा परिवारबीच जोडिएको यो बहुचर्चित सम्पत्ति प्रकरण नयाँ चरणमा प्रवेश गर्नेछ।









प्रतिक्रिया दिनुहोस्