काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कर्मचारीका लागि ११ बुँदे ‘आचारसंहिता, २०८३’ लागू गरेको छ ।
मन्त्रालयले कर्मचारीलाइृ थप अनुशासित, पारदर्शी र उत्तरदायी बनाउन ११ बुँदे आचारसंहिता जारी गरेको जनाएको छ ।
नयाँ आचारसंहितामा कर्मचारीले कुनै पनि प्रकारको विभेद नगरी सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने व्यवस्था छ।
आचारसंहितामा कार्यालय समयमा वा सरकारी पोशाकमा कार्यालयसँग सम्बन्धित प्रचारात्मक वा शिक्षामूलकबाहेक अन्य फोटो तथा भिडियो सामाजिक सञ्जालमा राख्न बन्देज गरिएको छ ।
फेसबुक, एक्स, टिकटकलगायत सामाजिक सञ्जाल प्रयोग गर्दा सरकारी सेवाको गरिमा र व्यावसायिक मर्यादा कायम गर्नुपर्ने उल्लेख छ ।
कर्मचारीले सामाजिक सञ्जालमार्फत कुनै पनि निकायका पदाधिकारी वा कर्मचारीको मानसम्मानमा आँच पुग्ने गरी अभिव्यक्ति दिन नहुने उल्लेख छ ।
आचारसंहितामा कार्यालय वा सार्वजनिक स्थानमा मदिरा सेवन, धूम्रपान, जुवातास खेल्ने तथा अन्य अमर्यादित गतिविधिमा संलग्न हुन नपाइने व्यवस्था गरिएको छ।
कर्मचारीले आफ्नो पद वा अधिकारको दुरुपयोग गरी व्यक्तिगत, पारिवारिक वा संस्थागत लाभ लिन नहुने, निजी स्वार्थ जोडिएका विषयमा निर्णय गर्न नहुने तथा सरकारी सम्पत्ति, सूचना प्रणाली र उपकरणको दुरुपयोग गर्न नपाइने उल्लेख छ ।
कर्मचारीलाई तोकिएको जिम्मेवारी समयमै सम्पन्न गर्न, कार्यालय समयमा नियमित उपस्थित हुन, परिचयपत्र अनिवार्य लगाउन, गोपनीय सूचना सुरक्षित राख्न र सेवाग्राहीसँग सम्मानजनक व्यवहार गर्न भनिएको छ।









प्रतिक्रिया दिनुहोस्